सहिदभूमि गाउँपालिकाद्वारा विद्यार्थीलाई स्वीटर र टोपी वितरण
जाडो हटाउन १० लाख बजेट खर्च
मेयरसाप डेस्क
|
२०८२ पुष ११ गते १४:५९
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले जाडो मौसममा सामुदायिक विद्यालयका बालबालिकालाई पठनपाठनमा सहजता प्रदान गर्न न्यानो कपडा वितरण अभियान सुरु गरेको छ ।
गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका आधारभूत तहमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यालयमै पुगेर स्वीटर र टोपी वितरण गर्न थालेको हो ।
जाडोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा समस्या आउने र विद्यालयमा उपस्थिति कम हुने जोखिमलाई मध्यनजर गर्दै गाउँपालिकाले यो कार्यक्रम अघि सारेको हो ।
गाउँपालिका अध्यक्ष मनोज राईका अनुसार ३९ वटा सामुदायिक विद्यालयका कुल १ हजार २ सय ४३ विद्यार्थी यस अभियानबाट प्रत्यक्ष लाभान्वित हुनेछन् ।
यस कार्यक्रमका लागि गाउँपालिकाले १० लाख रुपैयाँ बजेट छुट्याएको छ । हाल आधारभूत तहका साना बालबालिकालाई प्राथमिकता दिइएको छ ।
विनियोजित बजेटले भ्याएसम्म कक्षा ६ र ७ का विद्यार्थीहरूलाई पनि न्यानो कपडा वितरण गर्ने योजना रहेको अध्यक्ष राईले जानकारी दिए ।
पालिकाको यो कदमले आर्थिक रूपमा विपन्न परिवारका बालबालिकाहरूलाई चिसोबाट बच्न र नियमित विद्यालय जान ठूलो टेवा पुग्ने विश्वास गरिएको छ ।
Facebook Comments