टेरामक्स भ्रष्टाचार प्रकरणमा थप प्रमाण झिकाउन आदेश

पूर्वमन्त्री बस्नेत जोडिएको मुद्दा

User Image मेयरसाप डेस्क | २०८२ पुष १३ गते १६:५८
Image of https://mayorsap.com/storage/photos/shares/bisesh-adalat-ba7arfa3ws_1.jpeg

काठमाडौं । टेरामक्स प्रणाली खरिद प्रक्रियामा भएको भ्रष्टाचार सम्बन्धी मुद्दामा विशेष अदालतले थप प्रमाणहरू मगाउने र विज्ञको बकपत्र गराउने आदेश दिएको छ ।

आइतबार विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र हेमन्त रावलको इजलासले पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहितका १९ प्रतिवादीविरुद्धको मुद्दामा यस्तो आदेश जारी गरेको हो ।

अदालतले नेपाल दूरसञ्चार प्राधिकरणले २०७६ वैशाख २० गते खरिद प्रक्रिया रद्द गर्ने निर्णय गरेपछि परेका रिटहरूमा सर्वोच्च अदालतबाट भएका आदेशहरूको प्रमाणित प्रतिलिपि मगाउन भनेको छ ।

खरिद प्रक्रिया रद्द गर्ने निर्णयविरुद्ध ’भेन्राइज सोलुसन’ ले सर्वोच्चमा रिट दायर गरेको थियो । सोही रिट र सम्बन्धित अन्य निवेदनहरूमा सर्वोच्चबाट के–कस्ता आदेश भएका थिए भन्ने विषयलाई अदालतले प्रमाणको रूपमा हेर्न खोजेको हो ।

यसैगरी, अदालतले यस प्रकरणको प्राविधिक पक्ष बुझ्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा नियुक्त गरिएका टेलिकम्युनिकेसन विज्ञ केशव ज्ञवालीलाई बकपत्रका लागि उपस्थित गराउन आदेश दिएको छ ।

विशेष अदालत ऐन बमोजिम विज्ञ ज्ञवालीलाई भौतिक वा भिडियो कन्फरेन्स मार्फत उपस्थित गराई बकपत्र गराउने जिम्मेवारी विशेष सरकारी वकिल कार्यालयलाई दिइएको छ ।


Facebook Comments