इराकमा कार्यरत करिब ३० हजार नेपालीले पाउने भए श्रम स्वीकृति

User Image मेयरसाप डेस्क | २०८२ पुष १३ गते २०:४०
Image of https://mayorsap.com/storage/photos/shares/nepali-migrant-workers.jpg

काठमाडौं । लामो समयदेखि इराकमा काम गर्दै आएका तर नेपाल सरकारको औपचारिक अभिलेखमा नसमेटिएका करिब ३० हजार नेपाली कामदारले अब श्रम स्वीकृति (वर्क परमिट) पाउने भएका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारीका अनुसार मंसिर २५ गते बसेको मन्त्रिपरिषद् बैठकले इराकमा कार्यरत नेपालीलाई दर्तामा ल्याउने निर्णय गरेको हो।

अन्तरमन्त्रालयकाे सहमतिपछि मन्त्रिपरिषद् निर्णय

मन्त्री भण्डारीका अनुसार श्रम मन्त्रालयले यस विषयमा परराष्ट्र मन्त्रालय र कानुन मन्त्रालयसँग सहमति लिएपछि प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको थियो। दुवै मन्त्रालयको सहमतिपछि मन्त्रिपरिषद्ले निर्णय गरेको हो।

“इराकमा लामो समयदेखि काम गरिरहेका नेपालीहरू सरकारी अभिलेखमा छैनन्। अब उनीहरूलाई दर्तामा ल्याएर श्रम स्वीकृति दिने निर्णयले ठूलो राहत मिल्नेछ,” मन्त्री भण्डारीले बताए।

स्वीकृति नहुँदा वर्षौ नेपाल आउन नपाएका नेपाली

इराकमा दशकौँदेखि काम गरिरहेका धेरै नेपालीसँग श्रम स्वीकृति नभएकै कारण नेपाल आउने–फर्कने अधिकारसमेत सीमित थियो। इराकको स्थायी आवास अनुमति (रेसिडेन्स कार्ड) भएका नेपालीसमेत नेपाल आएपछि पुनः फर्कन नसक्ने अवस्थामा थिए।

सरकारको निर्णयअनुसार अब इराकको रेसिडेन्स कार्ड भएका नेपालीले नेपाल आएपछि आवेदन दिए श्रम स्वीकृति पाउनेछन्।

इराकमा कामदार पठाउने प्रतिबन्ध यथावत्

२०६१ साल भदौ १५ गते इराकमा १२ नेपालीको हत्या भएपछि नेपाल सरकारले सुरक्षा कारण देखाउँदै इराकमा नेपाली कामदार पठाउन प्रतिबन्ध लगाएको थियो। उक्त प्रतिबन्ध हालसम्म कायम छ।

श्रम मन्त्रालयले स्पष्ट पारेको छ—नयाँ कामदारलाई इराक पठाउने गरी श्रम स्वीकृति दिइने छैन। हालको निर्णय पहिलेदेखि त्यहाँ बसेर काम गरिरहेकाहरूका लागि मात्र लागू हुनेछ।

प्रतिबन्धबीच पनि अवैध यात्रा जारी

सरकारी प्रतिबन्ध हुँदाहुँदै पनि भारत र दुबई हुँदै अवैध रूपमा इराक जाने नेपालीहरूको संख्या ठूलो रहेको सरकारी अधिकारीहरू स्वीकार्छन्।

विशेषगरी पछिल्ला वर्षहरूमा महिला तस्करी गम्भीर समस्याका रूपमा देखिएको छ। फरेन एम्प्लोइमेन्ट रेस्क्यु नेपालका अध्यक्ष इन्द्रलाल गोलेका अनुसार दलालहरूले नेपाली महिलालाई दुबई हुँदै इराक पुर्‍याएर घरेलु कामदारका रूपमा बेच्ने गरेका छन्।

“महिलाहरूलाई अनुहार र शारीरिक बनावटका आधारमा ५ हजारदेखि ८ हजार अमेरिकी डलरसम्ममा बिक्री गरिन्छ,” गोलेले बताए। इराकमा घरेलु कामदारका रूपमा रहेका महिलाहरूलाई दैनिक १५–१६ घण्टा काम गर्न बाध्य पारिने, श्रम शोषण र यौन हिंसा सहनुपर्ने अवस्था रहेको गोलेको भनाइ छ।

“कतिपय महिलाले यौन शोषणबाट सन्तान जन्माएका छन्। उद्धारपछि केही महिला बच्चासहित नेपाल फर्किएका छन्,” उनले भने। उनका अनुसार इराकबाट दैनिक उद्धारको माग आउने गरेको छ र वैदेशिक रोजगार विभागले विभिन्न संस्थासँग समन्वय गरी उद्धार कार्य गरिरहेको छ।


Facebook Comments