सिरहामा शीतलहरको कहरः त्रिपालमुनि रात बिताउन बाध्य मुसहर बस्ती
बालबालिका, वृद्ध र महिलाको स्वास्थ्य जोखिममा
मुकेशकुमार यादव
|
२०८२ पुष १४ गते १३:३६
सिरहा । मिर्चैया नगरपालिका–६ स्थित जिवा मगरटोल र भोटिया टोलका भूमिहीन तथा विपन्न मुसहर समुदायका करिब ३० घरपरिवार कठ्याङ्ग्रिने जाडो र शीतलहरको मारमा परेका छन्। सुरक्षित आवासको अभावमा चिसो बढेसँगै उनीहरूको दैनिकी थप कष्टकर बनेको छ।

मधेस प्रदेश सरकारको जनता आवास कार्यक्रमअन्तर्गत सुरु गरिएको आवास निर्माण दुई वर्ष बितिसक्दा पनि पूरा हुन नसकेपछि उनीहरू त्रिपाल र परालकै सहारामा बस्न बाध्य छन्। अधुरा संरचना र न्यानो कपडाको अभावका कारण बालबालिका, वृद्ध र महिलाको स्वास्थ्य जोखिममा परेको स्थानीय बताउँछन्।

स्थानीय ४५ वर्षीय विजय सदा तीन छोरा र एक छोरीसहित छ जनाको परिवार लिएर त्रिपालमुनि रात बिताइरहेका छन्। उनी भन्छन्, “न घर बन्दैछ, न घर बनाउने जग्गा र पैसा छ। जाडोमा आफ्नै छोराछोरीलाई ओत दिन नसक्दा मन दुख्छ।”
विजय सदा मात्र होइन, पञ्ची सदा, रामलोचन सदा, संजय सदा, झिगुरा सदा, डिङ्गरा सदा, सन्त सदा, रसिया सदा, रासलाल सदा, श्रीराम सदा र जितना सदा लगायतका परिवार वर्षौँदेखि घरविहीन अवस्थामै छन्।
वडाअध्यक्ष रामप्रकाश महासेठका अनुसार प्रदेशसभा सदस्य कञ्चन विक्षाको अगुवाइमा आवास निर्माण कार्यक्रम आएको भन्ने जानकारी भए पनि बजेट र कार्यान्वयनबारे वडालाई औपचारिक जानकारी आएको छैन। वडाले विपद् व्यवस्थापनका लागि केही रकम छुट्याएको तर लामो समयदेखि पालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजना सञ्चालनमा समस्या भएको बताए।

पूर्वाधार विकास कार्यालय, सिरहाका साइड इन्जिनियर रामसुन्दर यादवले पछिल्ला दुई वर्षदेखि पर्याप्त बजेट नआएकाले निर्माण कार्य अघि बढ्न नसकेको बताए। उनका अनुसार यस वर्ष आएको बजेट पनि सीमित छ। जसले गर्दा सबै घर बन्न सक्नेमा शंका रहेको उनी बताउँछन् ।
पूर्वाधार कार्यालयका अनुसार आर्थिक वर्ष २०७९–०८० देखि सुरु भएको योजनाअन्तर्गत १२ घर निर्माण गर्ने लक्ष्य थियो। हालसम्म १० घरको जगभन्दा थोरै माथि सम्म मात्र निर्माण भएको छ । एउटा घर जगमै सीमित छ भने एउटा घर जग्गा अभावका कारण सुरु नै हुन सकेको छैन।

चिसो बढ्दै जाँदा मुसहर समुदायले तत्काल राहत, न्यानो कपडा र स्थायी आवासको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। सरकारी आश्वासन आउने तर व्यवहारमा नआउँदा उनीहरूको पीडा अझै बढ्दो छ।

Facebook Comments