ट्रायल प्रक्रियामा देखिने बेथिती तत्काल सुधार गर्न सम्बन्धित निकायलाई निर्देशन
मेयरसाप डेस्क
|
२०८२ पुष १४ गते १५:०४
हेटौंडा । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी ट्रायल परीक्षाको अनुगमनका लागि आज मकवानपुरस्थित ट्रायल स्थलमा संयुक्त अनुगमन गरिएको छ।
प्रमुख जिल्ला अधिकारी मकवानपुरका बसन्त अधिकारी र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) सुवास चन्द्र बोहराको नेतृत्वमा गरिएको अनुगमनका क्रममा ट्रायल प्रक्रियामा देखिन सक्ने सम्भावित बेथिती तत्काल सुधार गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
अनुगमनका क्रममा ट्रायल परीक्षा सञ्चालनको अवस्था, परीक्षार्थीलाई प्रदान गरिने सेवा–सुविधा, सुरक्षाको व्यवस्था तथा समग्र प्रक्रियाको पारदर्शिताबारे विस्तृत रूपमा अवलोकन गरिएको थियो। सो अवसरमा प्रमुख जिल्ला अधिकारी अधिकारीले यातायात व्यवस्था कार्यालय मकवानपुरले हाल सञ्चालन गरिरहेको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा तथा ट्रायल प्रक्रिया प्रशंसनीय रहेको बताए।
उनले भने, “यातायात व्यवस्था कार्यालय मकवानपुरले हाल जसरी सवारी चालक अनुमतिपत्रका लागि लिखित परीक्षा र ट्रायल सञ्चालन गरिरहेको छ, त्यो सेवाग्राहीमैत्री, शुद्ध र निष्पक्ष छ। यस प्रक्रियामा कुनै पनि प्रकारको भ्रष्टाचारका लागि स्थान नरहेको स्पष्ट देखिन्छ।”
अनुगमन टोलीले ट्रायल प्रक्रियालाई अझ व्यवस्थित, पारदर्शी र विश्वासयोग्य बनाउन निरन्तर अनुगमन आवश्यक रहेको उल्लेख गर्दै सेवाग्राहीलाई सहज, न्यायोचित र गुणस्तरीय सेवा प्रदान गर्न सबै पक्ष जिम्मेवार र गम्भीर हुनुपर्नेमा जोड दिएको छ।
जिल्ला प्रशासन र प्रहरीको संयुक्त अनुगमनले सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षाप्रति आम नागरिकको विश्वास बढाउनुका साथै सेवाप्रवाहमा सकारात्मक सन्देश जाने अपेक्षा गरिएको छ।
Facebook Comments