Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

सन्तान प्राप्तिको कामना गर्दै आज पुत्रदा एकादशी व्रत गरिँदै

User Image मेयरसाप डेस्क | २०८२ पुष १५ गते ०८:१९
Image of https://mayorsap.com/storage/photos/shares/putrada-ekadashi.JPG

काठमाडौं । आज पौष शुक्ल एकादशी पुत्रदा एकादशीको व्रत गरिँदैछ । यो एकादशीको विधिपूर्वक व्रत गर्नाले सन्तान प्राप्ति हुने विभिन्न पौराणिक एवं शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

यो एकादशीको माहात्म्य युधिष्ठिरले सोधेपछि भगवान् श्रीकृष्णले आज्ञा गर्दै पुत्रदा एकादशीको व्रतले सबै पापलाई हरण गर्ने उल्लेख गर्नुभएको पनि विभिन्न ग्रन्थमा लेखिएको छ । समस्त कामना तथा सिद्धिका दाता भगवान् लक्ष्मीनारायण यस तिथिका अधिदेवता हुन् ।

यो दिन भगवान्को पूजा अर्चना तिल, तुलसी अर्पणगरी कुन्दको फल र पक्वान्न अपुङ्गोको नैवेद्य चढाएर दारिमको अघ्र्य भगवान्लाई दिई ब्राह्मणलाई घ्यू दान दिनुपर्ने विषय पौराणिक एवं शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पण्डित बालमुकुन्द देवकोटाले बताए ।

परापूर्वकालमा भावतीपुरीका राजा सुकेतुमान तथा महारानी चम्पा धेरै समयसम्म कुनै पुत्र नभएका कारण चिन्तामा डुबेका थिए । एक दिन राजा घोडामाथि चढेर वनतर्फ प्रस्थान गरे । त्यहाँ उनले एउटा सरोवरको नजिकमा ऋषिमुनिको आश्रम भेटे । ऋषि मुनिद्वारा गुञ्जायमान वेद–पाठले राजा अत्यन्त प्रभावित भए ।

त्यस दिन पुत्रदा एकादशी परेको थियो । ऋषिमुनिले राजालाई व्रत गराए । जुन व्रतले व्रतकर्तालाई पुत्र–सुख प्रदान गर्ने सामथ्र्य राख्ने बताए । मुनिको निर्देशानुसार राजाले पुत्रदा–एकादशीका दिन उपवास बसेर द्वादशीका दिन व्रतको पारायण गरे । यस अनुष्ठानको पुण्यफलले उनले सुन्दर र तेजस्वी पुत्र प्राप्त गरे । पुत्रदा एकादशीको व्रत लिनाले यस जन्ममा सन्तान सुख भोगेर मृत्युपछि स्वर्ग प्राप्त गर्दछ ।

पुत्रदा एकादशीको माहात्म्यलाई पढ्नाले र सुन्नाले मात्र पनि अग्निष्टोम यज्ञ वा अष्वमेध यज्ञ गरेसरहको फल प्राप्त हुन्छ । पुत्र प्राप्तिको कामना हुने भक्तजनले पुत्रदा एकादशीबाट प्रारम्भ गरी निम्न मन्त्रको प्रतिदिन कम्तीमा पनि पाँच माला अर्थात् ५०० पटक जप गर्नाले सिद्धि प्राप्त हुने विश्वास छ, ‘क्लीं देवकीसुत गोविन्द वासुदेव जगत्पते । देहि मे तनयं कृष्ण त्वामहं शरणं गतः क्लीं’ मन्त्रको जपपछि सन्तान गोपाल स्तोत्रको पाठ गर्नाले निःसन्तानले सन्तान–सुख प्राप्त गरेका उदाहरण प्रशस्त भेटिने गरेको पण्डित देवकोटाले जानकारी दिए । 


Facebook Comments