धनगढीका मेयर हमाल भन्छन्–अबको निर्वाचनमा दलहरुसँग सुदूरपश्चिमको गरिबी घटाउने रोडम्याप माग्नुस्
मेयरसाप डेस्क
|
२०८२ पुष १५ गते १२:५७
काठमाडौं । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले अब आउने निर्वाचनमा राजनीतिक दल र उम्मेदवारसँग सुदूरपश्चिमको गरिबी घटाउने स्पष्ट रोडम्याप माग्न आम नागरिकलाई आग्रह गरेका छन्। पुस १५ तथा तमु ल्होसारको अवसरमा भिडियो सन्देशमार्फत मेयर हमालले सुदूरपश्चिममा गरिबीको अवस्था झनै गम्भीर बन्दै गएकाले आम नागरिकमा यस्तो आग्रह गरेका हुन् ।
उनले योजनाबिना हुने राजनीतिक बहस अर्थहीन हुने बताएका छन् । उनले भने, ‘गरिबी घटाउन कुन दलसँग, कुन उमेदवारसँग के रोडम्याप छ ? त्यो सोध्नुहोला, अध्ययन गर्नुहोला । त्यो भएन भने सुदूरपश्चिम कहिल्यै बन्दैन । यहाँको गरिबीको अवस्थाको जिम्मेवार को भन्ने तर्फ नगएपनि अब गरिबी हटाउन तपाईँको योजना के हो ? भनेर माग्नुस् ।’
उनले कर्णाली प्रदेशको उदाहरण दिँदै सन् २०१९ मा ३९.५० प्रतिशत रहेको गरिबी दर घटाएर अहिले २६.६९ प्रतिशतमा झार्न सफल भएको बताए। त्यसको विपरीत सुदूरपश्चिममा सोही समयमा २५.३ प्रतिशत रहेको गरिबी दर बढेर अहिले ३४.१६ प्रतिशत पुगेको तथ्यांक समेत सार्वजनिक गरेका छन् ।
उनले चुनावको बेला नेताहरूले दिने आश्वासनभन्दा ठोस योजना महत्वपूर्ण हुने बताए।
Facebook Comments