जाडो बढेपछि भङ्गाहा नगरपालिकाले बस्ती–बस्तीमा बाँड्यो दाउरा
शीतलहरको समयमा आगो ताप्न दाउरा पाएपछि राहत महसुस
मेयरसाप डेस्क
|
२०८२ पुष १५ गते १७:२५
महोत्तरी । दिन प्रतिदिन जाडो बढ्दै गएपछि महोत्तरीको भङ्गाहा नगरपालिकाले बस्तीमा दाउरा वितरण गर्न थालेको छ ।
नगरपालिकाका नौ वटै वडाका बस्ती–बस्तीका चोक, बजारलगायत सार्वजनिक स्थानमा सोमबारदेखि दाउरा वितरण गर्न थालिएको नगरप्रमुख सञ्जीवकुमार साहले बताए ।
“जाडो निकै बढ्यो, तत्काल राहतका लागि दाउरा वितरण थालेका छौं । पहिलो चरणमा सोमबार साँझसम्म नौवटै वडाका सबै बस्तीमा पुर्याएका छौं”, नगरप्रमुख साहले भने, “यसले यो शीतलहरमा जीउ तताउन थोरै राहत दिनेछ ।”
बस्ती–बस्तीमा सशस्त्र प्रहरी बेस क्याम्प भङ्गाहाका सशस्त्र प्रहरीका जवानसहितको वितरण टोलीले दाउराका मुडा झार्दै आगो सल्काउने गरेको साहले जानकारी दिए । दाउरा वितरणसँगै शीतलहरमा गरिब बस्तीमा थप राहतको आवश्यकता रहेको उनको भनाइ छ । यस कार्यमा समन्वय बढाइदिन उनले विभिन्न सामाजिक सङ्घसंस्था, जिल्ला विपद् व्यवस्थापन समिति र राज्यका निकायहरुसँग अपिल समेत गरेका छन् ।
“हाम्रो नगर क्षेत्रमा मुसहर, बाँतरसहितका अत्यन्त गरिब बस्ती धेरै छन्। यो अप्ठ्यारो बेलामा यस्ता बस्तीमा थप राहतको जरुरी छ”, साह भन्छन्, “यस कार्यमा सहयोग गर्न सबै पक्षसँग अनुरोध छ ।” शीतलहरको समयमा आगोमा जीउ तताउन पाएपछि सर्वसाधारणले केही राहत महसुस गरेका छन् ।
जिल्लामा यस पटक पुस ३ गते सुरु भएको शीतलहर पछिल्ला तीन÷चार दिनयता झन् बढ्दैछ । जिल्लाको सुदूरउत्तरी भेगका बर्दिबास र गौशाला नगरक्षेत्रका पूर्वपश्चिम राजमार्ग आसपासका बस्तीमा एकाध दिन मध्याह्नपछि घाम देखिएपनि मध्य र दक्षिणी भेगमा घाम देखिएको छैन ।
गत शनिबारयता बर्दिबास र गौशालाका यी भेगमा पनि घाम नदेखिएको गौशाला–८ सँग सीमा जोडिएको बर्दिबास–५ का वडाध्यक्ष काहारमान स्याङ्वाले बताए । चारैतिर डम्म बाक्लो हुस्सुले ढाकेर मुटु कमाउने जाडो बढिरहेपछि जिल्लाका सबै क्षेत्रमा दाउराको माग बढेको छ ।
Facebook Comments