वीरगंज महानगरका मुख्य क्षेत्रमा अनिश्चितकालिन कर्फ्यू आदेश

तोकिएका चार किल्लाभित्र कुनै पनि किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने

User Image मेयरसाप डेस्क | २०८२ पुष २१ गते १४:२८
Image of https://mayorsap.com/storage/photos/shares/photo-b363dc1c.png

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज दिउँसो १ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि यो निषेधाज्ञा जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी सूचना अनुसार, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम शान्ति सुरक्षा कायम राख्नका लागि वीरगंजका तोकिएका चार किल्लाभित्र कुनै पनि किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पाइने छैन्।

पूर्वमा बसपार्क क्षेत्रदेखि पश्चिममा सिर्सिया पुलसम्म, उत्तरमा पावर हाउस चोकदेखि दक्षिणमा शङ्कराचार्य गेटसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालले जनाएको छ ।

प्रशासनले उक्त आदेशको उल्लङ्घन गर्ने जोसुकैलाई नियन्त्रणमा लिई कानुन बमोजिम कडा कारबाही गरिने समेत जानकारी गराएको छ ।

पछिल्लो समय सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रशासनले यो कदम चालेको बुझिएको छ। सर्वसाधारणलाई शान्ति सुरक्षा कायम राख्न सहयोग गर्न र प्रशासनको आदेश पालना गर्न आग्रह गरिएको छ ।

धनुषामा मस्जिद तोडफोड र पवित्र धर्मग्रन्थ कुरान जलाइएको विरोधमा वीरगंजमा आइतवार भएको प्रदर्शनले उग्र रूप लिएपछि प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो।


Facebook Comments