तियारी जालले निम्त्याउँदैछ सङ्कटापन्न गोहीलाई जोखिम

जालमा बेरिएको घडियालको उद्धार

User Image मेयरसाप डेस्क | २०८२ पुष २३ गते १२:०४
Image of https://mayorsap.com/storage/photos/shares/ghadiyal-1.jpg

चितवन । चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर अन्तर्गत चित्रसारी पुल नजिकै बुढीराप्ती खोलामा तियारी जालमा बेरिएर छटपटाइरहेको एउटा १० वर्षको अतिसङ्कटापन्न घडियाल गोहीको सफलतापूर्वक उद्धार गरिएको छ ।

नदीजन्य पारिस्थितिक प्रणालीको महत्त्वपूर्ण सूचक मानिने यो प्राणीलाई असर पुग्ने गरी जाल प्रयोग गर्नु कानुनी अपराध भए तापनि यस्ता घटना पटक–पटक दोहोरिने गरेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार नदीमा हुने अनियन्त्रित माछा मार्ने कार्य, बालुवा–गिट्टी उत्खनन र बढ्दो प्रदूषणले घडियालको प्राकृतिक बासस्थानमा गम्भीर चुनौती थपेको छ ।

विशेष गरी राप्ती र नारायणी नदीमा मात्र सीमित हुँदै गएको यो प्रजाति बर्खाको बाढीमा बगेर भारत पुग्ने र बाँधका कारण फर्कन नसक्ने समस्याले गर्दा पनि यसको सङ्ख्या अपेक्षाकृत रूपमा बढ्न सकेको छैन ।

यद्यपि, पछिल्लो समय गरिएको गणनामा केही सकारात्मक सङ्केतहरू देखिएका छन् । यस वर्ष मङ्सिरमा गरिएको अवलोकनका क्रममा राप्ती र नारायणी नदीमा कूल ३६६ वटा घडियाल भेटिएका छन्, जसमा ९ वटा भाले फेला परेका छन् ।

अघिल्ला वर्षको तुलनामा भालेको सङ्ख्या बढ्नुलाई संरक्षणमा मिलेको ठूलो सफलताका रूपमा लिइएको छ । घडियालको सङ्ख्या वृद्धि र संरक्षणका लागि सन् १९७८ देखि चितवनको कसरामा प्रजनन केन्द्र सञ्चालन गरिएको छ, जहाँ कृत्रिम ह्याचरीमार्फत बच्चा उत्पादन गरी हुर्काएपछि नदीमा छाड्ने गरिन्छ ।

यो आर्थिक वर्षमा मात्र ५२ वटा घडियाल प्राकृतिक बासस्थानमा छोडिसकिएको छ भने हालसम्म विभिन्न नदीमा दुई हजारभन्दा बढी घडियाल विसर्जन गरिएको निकुञ्जले जनाएको छ ।


Facebook Comments