प्रधानमन्त्रीलाई कुलमानले बुझाए राजीनामा, पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरे काम

User Image मेयरसाप डेस्क | २०८२ पुष २३ गते २२:०३
Image of https://mayorsap.com/storage/photos/shares/kulman-ghising-2-59e31f3a.jpg

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष उनले राजीनामा बुझाएर सिंहदरबारस्थित मन्त्रालयमा आफ्ना कामकाे जानकारी दिन पत्रकार सम्मेलन नै गरेका छन् । 

जेनजी आन्दोलनको बलमा गठन भएको नागरिक सरकारमा घिसिङ भदौ ३० गते मन्त्री नियुक्त भएका थिए । प्रधानमन्त्री सुशीला कार्कीले घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएकी थिइन् ।

विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक हुँदै मन्त्री घिसिङले आफ्नै संरक्षकत्वमा उज्यालो नेपाल पार्टी दर्ता गराएका थिए । घिसिङले १४ पुसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग उपसभापतिको सहमति गरी एकता गरी आउँदाे निर्वाचनमा उम्मेदवार बन्ने तयारी तीब्र पारेका थिए ।

गैरदलीय सरकारको मन्त्री पदमा रहेकै दौरानमा घिसिङ रास्वपाको राजनीतिक गतिविधिमा संलग्न रहेको भन्दै राजीनामा दिनुपर्ने आवाज उठको थियो ।

सामाजिक सञ्जाल र जनस्तरमा मन्त्रीहरूको राजनीतिक गतिविधिमाथि प्रश्न उठेपछि सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले राजीनामा दिन मुखै खाेलेकी थिइन् ।

कुर्सीभन्दा माथि आत्मसम्मान, सरकार भन्दा ठूलो जनता

पत्रकार सम्मेलनमा कुलमानले भने, ‘मैले दिएको राजीनामाको निर्णय त न भाग्ने निर्णय हो, न त जिम्मेवारीबाट विमुख हुने प्रयास हो । यो मेरो आत्मसम्मान, नैतिकता, सिद्धान्त र जनताप्रतिको प्रतिबद्धताको निरन्तरता हो ।’

उनी अगाडि भन्छन्, ‘म मान्छु पदभन्दा ठूलो मूल्य हुन्छ, सिद्धान्त कुर्सीभन्दा माथि हुन्छ । आत्मसम्मान र सरकारभन्दा ठूलो हुन्छ जनता ।’


उनले थप भने, ‘पदमा रहँदा मात्रै होइन पदबाट बाहिर रहँदा देश र जनताको पक्षमा उभिनु नै कर्तव्य ठानेको छु ।’

उनले भारतसँग बिजुली किनेकाे विषयमा आफूले भ्रष्टाचार नगरेकाे दाबी पनि गरेका छन् । 


Facebook Comments