ग्रिनल्यान्डमा अमेरिकाले कदम नचाले रूस–चीन अघि सर्ने ट्रम्पको दाबी

User Image मेयरसाप डेस्क | २०८२ पुष २६ गते ११:४९
Image of https://mayorsap.com/storage/photos/shares/donald-trump.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई लिएर कडा अभिव्यक्ति दिएका छन् । अमेरिकाले ग्रिनल्यान्ड सम्बन्धी कुनै कदम नचाले रूस र चीनले ग्रिनल्यान्ड कब्जा गर्न सक्ने दाबी गर्दै उनले त्यसो हुन नदिने चेतावनी दिएका छन् । डेनमार्कको सन्दर्भमा ट्रम्पले ५०० वर्षअघि एउटा डुंगा त्यहाँ पुगेकै आधारमा जमिनको स्वामित्व दाबी गर्न नमिल्ने टिप्पणी गरे ।

तेल तथा ग्यास क्षेत्रका शीर्ष कार्यकारीहरूसँगको भेटका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले भने,“ग्रिनल्यान्डको विषयमा हामी केही न केही गर्नेछौं, उनीहरूलाई मन परोस् वा नपरोस् । यदि हामीले केही गरेनौं भने रूस वा चीनले त्यहाँ कब्जा जमाउनेछन् र हामीलाई रूस वा चीन छिमेकी चाहिँदैन ।” उनले थपे, “म सजिलो तरिकाले सम्झौता गर्न चाहन्छु, तर सजिलो बाटो नआए कडा तरिकाबाट पनि गर्नेछौं ।”

डेनमार्कप्रति आफू सकारात्मक रहेको उल्लेख गर्दै उनले भने, “म डेनमार्कको समर्थक हुँ । उनीहरू म प्रति राम्रो छन् । तर ५०० वर्षअघि एउटा डुंगा त्यहाँ पुगेको भन्दैमा त्यो जमिन उनीहरूको हुन्छ भन्ने होइन । हाम्रा पनि धेरै डुंगा त्यहाँ पुगेका थिए ।” उनले हाल ग्रिनल्यान्ड वरिपरि रूसी र चिनियाँ युद्धपोत तथा पनडुब्बीको उपस्थिति बढेको दाबी गर्दै अमेरिका त्यसलाई स्वीकार नगर्ने स्पष्ट पारे ।

ग्रिनल्यान्ड ‘किन स्वामित्वमा लिनुपर्छ’ भन्ने प्रश्नमा ट्रम्पले भने, “स्वामित्व भएको कुरा हामी रक्षा गर्छौं, भाडामा लिएको जस्तै होइन । देशहरूले स्वामित्व लिनुपर्छ र त्यसको रक्षा गर्नुपर्छ । यदि हामीले गरेनौं भने चीन वा रूसले गर्नेछन, तर त्यो हुन दिइनेछैन ।” उनले नाटोबारे टिप्पणी गर्दै भने,“म नाटोको समर्थक हुँ । मैले नै नाटोलाई बचाएँ । म नभएको भए नाटो रहने थिएन ।”

 


Facebook Comments