लैङ्गिक समानता कायम गर्न दशरथचन्द नगरपालिकाले गर्यो चेतनामूलक कार्यक्रम

कानुनी व्यवस्था र व्यावहारिक अभ्यासका विषयमा छलफल

User Image मेयरसाप डेस्क | २०८२ पुष २६ गते १५:१८
Image of https://mayorsap.com/storage/photos/shares/dasrathchanda-nagarpalika.jpg

बैतडी । लैङ्गिक समानता कायम गर्न बैतडीको दशरथचन्द नगरपालिकाले चेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । लैङ्गिक समानता कायम गराउन भएका कानुनी व्यवस्था, लैङ्गिक सहभागिता र लैङ्गिक हिंसा न्यूनीकरणका लागि समुदायका बुद्धिजीवी, अगुवाहरुसँग छलफल तथा अन्तरक्रियाको आयोजना गरिएको दशरथचन्द नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख लीला कुँवरले बताइन् । 

समानता कायम गर्नकै लागि नगरका सबै वडामा यो कार्यक्रम सञ्चालन गरिएको हो । समुदायका धार्मिक अगुवा, शिक्षक, बुद्धिजीवी सबैलाई एकै ठाउँमा राखेर लैङ्गिक समानताका विषयमा छलफल गरिएको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले बताइन् । उनले भनिन्, “समानताका लागि घरबाटै सुरुवात गर्नुपर्ने भएकाले हामीहरुले सचेतनामूलक कार्यक्रममा जोड दिएका छौँ । कानुनी व्यवस्था र हाम्रो व्यावहारिक अभ्यासका विषयमा छलफल गरेका छौँ ।” 

विगतको तुलनामा पछिल्लो समयमा हरेक क्षेत्रमा महिला सहभागिता बढ्दै गएको र यसले लैङ्गिक समानता कायम गर्न सहयोग पुगेको स्थानीय बेलु क्षेत्रीले बताए । यस्ता खालका जनचेतनामूलक कार्यक्रम अझै विस्तार हुनुपर्नेमा जोड दिइएको छ ।

लैङ्गिक समानताका लागि वडास्तरबाटै विभिन्न प्रयासहरु भइरहेको दशरथचन्द नगरपालिका–२ का वडाध्यक्ष सूर्यबहादुर बोहराले बताए । उपभोक्ता समिति गठनदेखि अन्य स्थानमा पछिल्लो समयमा महिला सहभागिता बढ्दै गएको उनले बताए।


Facebook Comments