मकवानपुर गढी: पृथ्वीनारायण शाहको ‘ससुराली घर’
हेटौंडा । मकवानपुर गढीको इतिहास नेपाल एकीकरणसँग प्रत्यक्ष रूपमा जोडिएको छ। इतिहासकारहरूका अनुसार यहाँ अवस्थित दरबार राजा पृथ्वीनारायण शाहको ‘ससुराली घर’का रूपमा चिनिन्छ। मकवानपुरका तत्कालीन शासक हेमकर्ण सेनको शासनकालमा गोरखाका राजा पृथ्वीनारायण शाहसँग मकवानपुरको सम्बन्ध गाँसिएको र हेमकर्ण सेनले आफ्नी छोरी पृथ्वीनारायण शाहसँग विवाह गरिदिएको इतिहासमा उल्लेख छ।
नेपाल एकीकरणका क्रममा मकवानपुर गढी सामरिक दृष्टिले अत्यन्तै बलियो रहेकाले युद्ध जित्न कठिन हुने देखेपछि पृथ्वीनारायण शाहले कूटनीतिक चातुर्य अपनाउँदै वैवाहिक सम्बन्ध गाँसेको बताइन्छ। विवाहमार्फत उनले मकवानपुरको सुरक्षा व्यवस्था र भित्री रणनीतिबारे जानकारी हासिल गरेको इतिहासकारहरूको भनाइ छ।
ऐतिहासिक, पुरातात्त्विक तथा सामरिक महत्व बोकेको मकवानपुर गढी हाल पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ। मकवानपुर गढी गाउँपालिका–२ मा अवस्थित गढी किल्लाभित्र रहेका दरबार, मन्दिर तथा पर्खालहरूको जीर्णोद्धार भएपछि यस क्षेत्रको ऐतिहासिक गरिमा अझ प्रस्ट देखिन थालेको छ। अग्लो डाँडाको टुप्पामा रहेको गढीबाट देखिने मनमोहक प्राकृतिक दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले प्रवर्द्धन गर्नुपर्ने नयाँ सय पर्यटकीय गन्तव्यको सूचीमा मकवानपुर गढीलाई समेटेको छ। यसले यहाँको ऐतिहासिक महत्व थप उजागर भएको छ। ऐतिहासिक अध्ययन र अनुसन्धानका लागि विशेषगरी विद्यार्थीहरूको आवागमन बढ्दो छ।
काठमाडौं, चितवन, मकवानपुर तथा तराई क्षेत्रका विद्यार्थीहरू अध्ययन भ्रमण र पिकनिकका लागि मकवानपुर गढी पुग्ने गरेका छन्। ऐतिहासिक महत्व, पुराना किंवदन्ती र प्राकृतिक सौन्दर्यले यहाँ पुग्ने जो–कोहीलाई आकर्षित गर्ने गरेको स्थानीयवासीको भनाइ छ।
करिब १ सय ३५ रोपनी क्षेत्रफलमा फैलिएको यो गढी नेपालकै सबैभन्दा ठूलो गढीमध्ये एक मानिन्छ। करिब अढाइ सय वर्ष पुरानो यो मकुन्दसेनको दरबार अग्लो डाँडाको टुप्पामा अवस्थित छ, जसलाई चारैतिर अग्ला पर्खालले घेरेको छ। यही दरबार पृथ्वीनारायण शाहको ससुराली घरका रूपमा परिचित छ। सदरमुकाम हेटौंडाबाट करिब १७ किलोमिटर उत्तर–पूर्वमा रहेको यस क्षेत्रमा ठूला–साना गरी करिब दुई सय गढी रहेका छन् ।
Facebook Comments