बाजुरा जिल्लामै पहिलो पटक माइक्रोबायोलोजी ल्याब सेवा सुरु
अब संक्रामक रोगको पहिचान जिल्लामै हुने
गोविन्द तिमिल्सेना
|
२०८२ पुष २७ गते १८:११
बाजुरा । बाजुरा जिल्लाको स्वास्थ्य क्षेत्रमा इतिहासमै पहिलो पटक माइक्रोबायोलोजी ल्याब सेवा सञ्चालनमा आएको छ ।
जिल्ला अस्पताल मार्तडीमा यो सेवा सुरु भएसँगै अब संक्रामक रोगहरूको पहिचान र ’कल्चर’ परीक्षणका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको छ ।
अस्पतालका प्रमुख डा. चन्द्रशेखर यादवका अनुसार, ल्याब सञ्चालनमा आएसँगै विभिन्न जटिल संक्रामक रोगहरूको समयमै पहिचान गरी उपचारलाई थप प्रभावकारी बनाउन ठूलो मद्दत पुग्नेछ ।
यसअघि सामान्य कल्चर परीक्षणका लागि समेत यहाँका बिरामीहरूले धनगढी, नेपालगन्ज वा काठमाडौं धाउनुपर्ने अवस्था थियो । अब आफ्नै जिल्लामा सहज र सुलभ रूपमा यो सेवा उपलब्ध हुने भएपछि स्थानीय बासिन्दाले ठूलो राहत महसुस गरेका छन् ।
अस्पतालका सूचना अधिकारी नृपराज गिरीले माइक्रोबायोलोजी ल्याबको स्थापनाले बाजुराका नागरिकलाई मात्र नभई छिमेकी जिल्लाहरू हुम्ला, मुगु र कालीकोटबाट उपचारका लागि आउने बिरामीहरूलाई समेत महत्त्वपूर्ण सहयोग पुग्ने बताए ।
पछिल्लो समय जिल्ला अस्पताल बाजुराले आफ्नो सेवालाई थप गुणस्तरीय र प्रविधिमैत्री बनाउँदै लगेपछि टाढा–टाढाबाट बिरामीहरू उपचारका लागि यहाँ आउने क्रम बढेको छ ।
Facebook Comments