कांग्रेस राजनीतिक पार्टी मात्र होइन, वेथितिविरुद्धको अभियान हो : प्रदीप पौडेल

User Image मेयरसाप डेस्क | २०८२ पुष २७ गते १९:१५
Image of https://mayorsap.com/storage/photos/shares/pradip-poudel.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपाली कांग्रेसलाई राजनीतिक पार्टी मात्र नभई देशका सबै प्रकारका वेथितिविरुद्धको अभियान भएको बताएका छन् ।

आइतबार नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले कांग्रेसले महिला, दलित, मधेसी, जनजाति तथा सिमान्तकृत समुदायमाथिको विभेदविरुद्ध निरन्तर संघर्ष गर्दै आएको उल्लेख गरे ।

उनले भने, ‘नेपाली कांग्रेस एउटा राजनीतिक पार्टी मात्रै होइन, कांग्रेस देशका सबै वेथितिविरुद्धको एउटा अभियान हो । कांग्रेस महिला विभेदविरुद्धको अभियान थियो । कांग्रेस दलित विभेदविरुद्धको अभियान थियो । मधेसी, जनजाती, सिमान्तकृत विभेद विरुद्धको अभियान थियो । नेपालमा समानता, बहुलवाद, फरक विचारको कुरासमाजमा कांग्रेसले गरेको हो ।’

नेता पौडेलले आजको लोकतान्त्रिक व्यवस्थाको प्रारम्भिक चरणमै त्यसको वकालत गर्दै अधिकारका लागि लडेको इतिहास नेपाली कांग्रेससँग रहेको स्मरण गराए । तर सोही इतिहास बोकेको पार्टी आज कमजोर अवस्थामा पुगेकोप्रति उनले चिन्ता व्यक्त गरे ।

उनले नेपालको लोकतन्त्र जोगाउन र देशमा अतिवाद समाप्त गर्न नेपाली कांग्रेस बलियो हुनुपर्नेमा जोड दिए । नागरिकको अपेक्षा अनुरूप कांग्रेस निर्माण गर्ने प्रक्रियामा पार्टीले धेरै ठाउँमा कमजोरी गरेको स्वीकार गर्दै उनले त्यसको जिम्मेवारी लिनुपर्ने बताए ।

नेतृत्वप्रति संकेत गर्दै पौडेलले कांग्रेसको भविष्य जोगाउने कि नेतृत्व रक्षाका नाममा भविष्य समाप्त गर्ने भन्ने निर्णय पार्टीकै हातमा रहेको बताए । उनले बहुदलीय व्यवस्थामा गणित प्रधान विषय हुने बताउँदै पौडेलले विश्वास प्राप्त गर्न नसक्ने नेताले नैतिकताको ख्याल गर्नुपर्ने बताए ।


Facebook Comments