अन्नपूर्णको भुवाने देउरालीमा पाखो सम्माएर खेलमैदान निर्माण
म्याग्दीको घारमा बन्यो आकर्षक खेलमैदान
मेयरसाप डेस्क
|
२०८२ पुष २९ गते १०:००
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान निर्माण भएको छ । गण्डकी प्रदेश सरकार र जर्मनको ‘हिमालय फ्रेन्ड्स इभी’ संस्थाको सहयोगमा भुवानी युवा परिवारले खेलमैदान निर्माण गरेका हुन् ।
हिमालय संस्थाले यस वर्ष रु १० लाख ५२ हजार २५० आर्थिक सहयोग गरेको खेलमैदान निर्माणका लागि गण्डकी प्रदेश सरकारले गत वर्ष रु पाँच लाख र क्लबले रु एक लाख खर्च गरेका थिए ।
उपभोगविहीन बाँझो सार्वजनिक भिरालो पाखामा डोजर परिचालन गरेर सम्याएर ११० मिटर लम्बाइ र ५० मिटर चौडाइ भएको खेलमैदान तयार भएको निर्माण समितिका अध्यक्ष श्याम खड्काले बताए ।
फुटबल, बास्केटबल, क्रिकेट, एथलेटिक्स खेल सञ्चालन गर्न सकिने खेलमैदानमा पर्खाल, प्यारापिट र घेराबारका लागि वडा, गाउँपालिका, प्रदेश र सङ्घीय सरकारसँग पहल गरिएको निर्माण समितिले जनाएको छ ।
यसअघि खेलमैदान अभावमा विद्यालय परिसरमा खेलअभ्यास र प्रतियोगिता सञ्चालन हुने गरेको थियो । विद्यालयमा हुने खेलकुद गतिविधिका कारण बालबालिकाको पठनपाठन प्रभावित भएपछि छुट्टै ठाउँमा खेलमैदान निर्माण गरिएको निर्माण समितिका सचिव जितबहादुर बरुवालले बताए ।
Facebook Comments