हिमाचलमा आगलागी हुँदा सल्यानका ९ जनाको मृ*त्यु
मेयरसाप डेस्क
|
२०८२ पुष २९ गते १०:४७
सल्यान । भारतको हिमाचल प्रदेशस्थित सोलन जिल्लामा ग्यास सिलिण्डर विस्फोट हुँदा सल्यानका ९ जना नेपालीको मृत्यु भएको छ ।
सोमबार बिहान करिब साढे २ बजे अर्की भन्ने स्थानमा रहेको एक घरमा सिलिण्डर विस्फोट भएपछि भीषण आगलागी भएको थियो ।
मृत्यु हुनेहरू सबै सल्यानको सिद्धकुमार गाउँपालिका–२ का बासिन्दा हुन् । वडाध्यक्ष मेघराज बुढाथोकीका अनुसार घटनामा स्थानीय धनबहादुर विक र काशीराम विकका दुई परिवार सखाप भएका छन् ।
मृतकहरूमा ३३ वर्षीय धनबहादुर विक, उनकी श्रीमती कविता, छोरीहरू राधा र रेणुका तथा छोरा राजन रहेका छन् । त्यस्तै, ४७ वर्षीय काशीराम विक, उनकी श्रीमती टीका, छोरी अनु र छोरा किरणको पनि आगलागीमा परी मृत्यु भएको छ ।
रोजगारीको सिलसिलामा हिमाचलमा बस्दै आएका उनीहरू आगलागीपछि घरभित्रै थुनिएर निसास्सिएको र अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ ।
आगलागीबाट सो क्षेत्रका १५ भन्दा बढी पसलमा क्षति पुगेको छ । आफ्नै वडाका दुई परिवारका सबै सदस्यको मृत्यु भएपछि सिद्धकुमार गाउँपालिका–२ मा मंगलबार शोक बिदा दिइएको छ ।
Facebook Comments