विशेष महाधिवेशन निर्णायक मोडमा, कांग्रेस विभाजनको संघारमा

गगनलाई भावी नेतृत्व र प्रधानमन्त्रीको प्रस्ताव, नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरू

User Image मेयरसाप डेस्क | २०८२ पुष २९ गते २१:०७
Image of https://mayorsap.com/storage/photos/shares/gagan-bishwo_1.jpg

काठमाडौं । पार्टी रुपान्तरण र संरचनात्मक सुधारको एजेन्डामा संस्थापन पक्ष सहमत हुन नसकेपछि नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्णायक मोडमा पुगेको छ। बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूको आह्वानमा सुरु भएको विशेष महाधिवेशनले अब कांग्रेसलाई विभाजनको संघारमा पुर्‍याएको विश्लेषण हुन थालेको छ।

विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले पेश गरेका पार्टी संरचनात्मक सुधारसहितका प्रस्तावहरू मंगलबार साँझ पारित भएका छन्। प्रस्ताव पारित भएपछि महामन्त्री थापाले आफूहरू विद्रोहको प्रक्रियामा सामेल भएको स्पष्ट सन्देश दिँदै अबका सबै निर्णय महाधिवेशनको हलबाटै हुने उद्घोष गरेका छन्।

उनले बाहिर चलिरहेको सहमतिका प्रयास निष्कर्षविहीन र झन् जटिल बन्दै गएको संकेत गर्दै अब महाधिवेशनको प्रक्रियालाई रोक्न नसकिने बताए।

गगनलाई भावी नेतृत्व र प्रधानमन्त्रीको प्रस्ताव

यसैबीच, अर्का महामन्त्री विश्वप्रकाश शर्माले गगन थापालाई कांग्रेसको भावी नेतृत्व र भावी प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेका छन्। उनले गगनको नेतृत्वले पार्टीमा नवीन ऊर्जा भर्ने दाबी गर्दै विशेष महाधिवेशनमार्फत नयाँ राजनीतिक दिशातर्फ कांग्रेस अघि बढ्ने बताएका छन्। गगन थापाले उक्त प्रस्ताव स्वीकार गर्दै अन्तिम निर्णय महाधिवेशनबाटै टुंगिने स्पष्ट पारे।

नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरू

विशेष महाधिवेशनको बन्दसत्र चलिरहेकै बेला मंगलबार दिउँसोबाट नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। नेतृत्वदायी पदका आकांक्षीहरूले उम्मेदवारी फारम लिन थालेका छन्।

महामन्त्री थापाले विशेष परिस्थितिमा विद्रोहकै रूपमा महाधिवेशन भएको उल्लेख गर्दै आकांक्षीहरूलाई उदार बन्न अपिल गरेका छन्। ‘प्रक्रिया अघि बढिसकेको छ, अब यसमा दख्खल दिन मिल्दैन,’ थापाले भने, ‘यो छोटो अवधिको नेतृत्व हो। त्यसपछि नियमित महाधिवेशन हुन्छ। यो अभियान र विद्रोह हो, पदको प्रतिस्पर्धाभन्दा पनि उद्देश्य ठूलो हो।’

सहमति प्रयास असफल, वार्ता जारी

संस्थापन पक्षसँग सहमतिका लागि सोमबारदेखि नै प्रयास भए पनि मंगलबार दिनभर चलेको संस्थापन पक्ष, शेखर कोइराला पक्ष र विशेष महाधिवेशन पक्षधरबीचको वार्ता निष्कर्षमा पुग्न सकेन। विशेष महाधिवेशन पक्षधरले पार्टी सुधारका प्रस्ताव पारित गर्नुपर्ने, सभापति शेरबहादुर देउवाले पद छोड्नुपर्ने र महाधिवेशनलाई पार्टीले स्वामित्व लिनुपर्ने माग राखेका थिए। तर संस्थापन पक्ष यी मागमा टसमस भएनन्।

संस्थापन पक्षले विशेष महाधिवेशनलाई अवैधानिक भन्दै आएको छ। यसैक्रममा मंगलबार बोलाइएको केन्द्रीय समिति बैठक पनि स्थगित गर्दै बुधबार बिहानका लागि सारिएको छ।

यद्यपि विशेष महाधिवेशन पक्षधरहरूले संवाद पूर्ण रूपमा तोडेका छैनन्। गुरुराज घिमिरे, प्रदीप पौडेल र देवराज चालिसे वार्तामा सक्रिय छन्। तर वार्ता महाधिवेशन अल्झाउने रणनीतिमा केन्द्रित देखिएपछि विशेष महाधिवेशनका प्रतिनिधिले आरोप लगाएका छन्।

नाराबाजी र निर्णायक क्षण

मंगलबार विशेष महाधिवेशन स्थलमा ‘वार्ताको नाममा अल्झिन नहुने’ भन्दै प्रतिनिधि र समर्थकहरूले नाराबाजीसमेत गरे। यसले महाधिवेशनलाई नीति र नेतृत्वबारे तत्काल निर्णय लिनैपर्ने विन्दुमा पुर्‍याएको छ। नीतिगत विषय प्रस्ताव पारितसँगै टुंगिएको छ भने अब नेतृत्वबारे बुधबार निर्णय हुने तयारी छ।

वार्तामा नमिलेका मुख्य विषय

त्रिपक्षीय वार्तामा विशेष महाधिवेशनलाई पार्टीले स्वामित्व लिने विषयमा संस्थापन समूह केही लचक देखिए पनि सभापति देउवा राजनीतिबाट अलग हुने र प्रतिनिधिसभा निर्वाचनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हस्ताक्षरसम्बन्धी विषयमा सहमति जुट्न सकेको छैन।

विशेष पक्षले निर्वाचन केन्द्रीत अभियानका लागि कार्यवाहक सभापतिको संयोजकत्वमा समिति गठन र सहमति भए सहमतिकाे विषयबस्तुहरू विशेष महाधिवेशन स्थलमै घोषणा गर्नुपर्ने प्रस्ताव राखेको छ।

देउवाको सन्देशः ‘रातिसम्म मिलाउँछौं’

यसैबीच, पार्टी सभापति शेरबहादुर देउवाले अझै पनि समझदारीको सम्भावना रहेको बताएका छन्। केन्द्रीय समिति बैठकपछि प्रवक्ता प्रकाशशरण महतमार्फत देउवाले ‘रातिसम्म समझदारी बन्छ भने अन्यथा निर्णयमा किन जाने’ भन्ने सन्देश दिएको महतले जानकारी दिएका छन् ।

महतले पार्टी विभाजन कसैका लागि हितकर नहुने भन्दै सबै पक्षलाई संयम अपनाउन आग्रह गरे। ‘कांग्रेस एकताबद्ध भए मात्र देश, जनता र लोकतन्त्र बलियो हुन्छ,’ उनले भने। अब रातारात सहमतिको कुनै स्वीकार्य प्रस्ताव आउँछ कि कांग्रेस स्पष्ट विभाजनतर्फ जान्छ भन्ने प्रश्नको उत्तर बुधबारको निर्णयले दिनेछ।


Facebook Comments