सिन्धुलीमा एसबीआई बैंकबाट लुटिएको १ करोड ८० लाख रुपैयाँ बरामद
सिन्धुली बैंक लुटपाट काण्ड
मेयरसाप डेस्क
|
२०८२ पुष ३० गते ०९:३९
काठमाडौं । सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–२ बस्तीपुरमा रहेको एसबीआई बैंक लुटपाटमा संलग्न एक जना व्यक्ति गाडिसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा भवत सिंह थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार बैंक लुटपाटमा संलग्नहरूले प्रयोग गरेको बीएडी ०३९८ नम्बरको टाटासुमो गाडीका चालक थापालाई गाडीसहित नियन्त्रणमा लिएको हो ।
मंगलबार बेलुका ८ः४० बजेतिर बैंकमा लुटपाट भएको थियो । पाँच/छ जनाको समूहमा आएको नकाबधारी लुटेराहरुको समूहले बैंकका कर्मचारीहरुलाई नियन्त्रणमा लिएर गार्ड रुद्रबहादुर कार्कीमाथि खुकुरी समेत प्रहार गरेका थिए । लुटेराहरुले बैंकमा रहेको ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटेर लगेको सिन्धुलीका प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए ।
घट्ना लगतै प्रहरी टोली परिचालन भएको र खोजतलास गर्दै जाने क्रममा १ करोड ८० लाख १० हजार ५ सय रुपैयाँ बरामद भएको एसपी सुवेदीले बताए । पक्राउ परेका चालक थापाले नकाबधारीहरू बिहेमा जाने भन्दै गाडीमा चढेको र अन्य कुरा थाहा नभएको बताएका छन् । लुटेराहरुको खोजतलास तीव्र पारिएको र घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments