बकैया गोल्डकप फुटबल : वडा नम्बर पाँच सेमिफाइनलमा
मकवानपुर । बकैया गाउँपालिकामा जारी सातौँ ‘बकैया गोल्डकप’ फुटबल प्रतियोगितामा महिलातर्फ वडा नम्बर ५ सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको रोमाञ्चक खेलमा वडा नम्बर ७ लाई १–० को झिनो गोलअन्तरले पछि पार्दै वडा नम्बर ५ ले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा कोपिला वाईबाले गरेको उत्कृष्ट गोल नै खेलको निर्णायक स्कोर सावित भयो । खेलभरि प्रभावशाली प्रदर्शन गरेकी कोपिला ‘म्यान अफ द म्याच’ घोषित भइन् । उनले ट्रफीसँगै नगद २ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन् ।
अब सेमिफाइनलमा वडा नम्बर ५ ले वडा २ र वडा ६ बीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । बकैया खेलकुद विकास समितिले यसै संस्करणदेखि महिला फुटबललाई पनि औपचारिक रूपमा समावेश गरेको हो ।
प्रतियोगितामा कुल ८ वटा महिला टिमले सहभागिता जनाएका छन् । यसले स्थानीय स्तरमा रहेका महिला खेलाडीहरूको प्रतिभा प्रस्फुटनमा ठूलो सहयोग पुगेको आयोजकले जनाएको छ ।
Facebook Comments