धनगढीमा विद्युतीय चुलो वितरण, ३७ सय परिवार लाभान्वित हुँदै

भान्सा प्रदूषणमुक्त बनाउने लक्ष्य

User Image मेयरसाप डेस्क | २०८२ माघ १ गते १०:४३
Image of https://mayorsap.com/storage/photos/shares/dhangadhi-upamahanagar_1.png

धनगढी । धनगढी उपमहानगरपालिकाले नगरभित्र स्वच्छ र वातावरणमैत्री ऊर्जाको प्रयोग बढाउन विद्युतीय चुलो वितरण कार्य सुरु गरेको छ ।

नगरप्रमुख गोपाल हमालले बुधबारदेखि चरणबद्ध रूपमा लाभग्राहीलाई इन्डक्सन चुलो हस्तान्तरणको शुभारम्भ गरेका हुन् ।

हरित जलवायु कोषको सहयोग र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगको साझेदारीमा सञ्चालित यो कार्यक्रमले घरभित्र हुने वायु प्रदूषण कम गर्ने लक्ष्य राखेको छ । 

उपमहानगरपालिकामा प्राप्त ३ हजार ७१० आवेदनमध्ये पहिलो चरणमा मापदण्ड पुगेका लाभग्राहीलाई पुस ३० देखि माघ १२ गतेसम्म चुलो वितरण गरिनेछ ।

यस वर्ष २ हजार ५ सय इन्डक्सन, ५ सय सुधारिएको चुलो र १० वटा बायोग्यास चुलो वितरण गर्ने योजना छ । वितरणमा महिला घरमूली, अपाङ्गता भएका व्यक्ति, एकल महिला र सीमान्तकृत समुदायलाई प्राथमिकता दिइएको छ ।

एउटा इन्डक्सन चुलोको लागतमा केन्द्रको ४८ प्रतिशत, लाभग्राहीको करिब २३ प्रतिशत र उपमहानगरको करिब २० प्रतिशत साझेदारी रहेको छ । उपमहानगरले यसका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।


Facebook Comments