काठमाडौं महानगरद्वारा आगामी तीन वर्षको आय–व्यय प्रक्षेपण

३३ अर्बभन्दा बढी खर्चको अनुमान

User Image मेयरसाप डेस्क | २०८२ माघ १ गते १७:२१
Image of https://mayorsap.com/storage/photos/shares/aaa_1.jpeg

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी तीन वर्षको आयव्यय प्रक्षेपण गरेको छ । उपप्रमुख एवं राजस्व परामर्श समितिका संयोजक सुनिता डङ्गोलको अध्यक्षतामा बुधबार बसेको बैठकले, आन्तरिक आयका स्रोत, राजस्वको क्षेत्र र दायरा तथा खर्चको लेखाजोखा गर्दै आयव्यय प्रक्षेपण गरेको हो ।

बैठकले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि १५ अर्ब १३ करोड ३० लाख ५५ हजार, आव २०८४–८५ का लागि १५ अर्ब  ५१ करोड ८१ लाख ६० हजार  र आव २०८५–८६ का लागि १५ अर्ब ९८ करोड ८६ लाख ६५ हजार आय अनुमान गरेको छ ।

कामपाको आव २०८१–८२ को यथार्थ आय १० अर्ब ७४ करोड ४४ लाख ५४ हजार हो । कामपाले चालु आर्थिक वर्षका लागि १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार आय लक्ष्य राखेको छ । जसमध्ये अहिलेसम्ममा रु पाँच अर्ब ६९ करोड आय सङ्कलन भएको छ ।

व्ययतर्फ आव २०८३–८४ का लागि २७ अर्ब ६२ करोड ५७ लाख ७५ हजार एक सय, आव २०८४–८५ का लागि ३० अर्ब ३८ करोड ८३ लाख ५२ हजार ६१०  र आव २०८५–८६ का लागि ३३ अर्ब ४२ करोड ७१ लाख ८७ हजार ८७१ अनुमान गरिएको छ । 

बैठकमा आम्दानी र खर्चको तुलनात्मक विश्लेषण गर्दै संयोजक डङ्गोलले, आयले खर्च नियन्त्रण प्रणाली स्थापित गर्दै जानुपर्ने बताइन् । उनले भनिन्, ‘आम्दानी र खर्च प्रक्षेपणलाई वास्तविक बनाउन आधार, तथ्य र व्यवहारिकता अध्ययनका लागि तेस्रो पक्षबाट सेवा लिएर तथ्य निकाल्नुहोला ।’

स्थानीय सरकारको बजेट, नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्न प्रमुख अध्यक्ष रहने स्रोत अनुमान निर्धारण समिति रहने व्यवस्था छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६६ मा भएको व्यवस्थाअनुसार समितिमा उपप्रमुख र कार्यपालिका सदस्यमध्ये दलित, अल्पङ्ंख्यकपर्ने गरी प्रमुखले तोकेका चारजना सदस्य रहन्छन् ।

समितिको सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था छ । समितिले आफूलाई प्राप्त हुने आन्तरिक आय, राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम, अनुदान, ऋण र अन्य आयको प्रक्षेपण गर्छ । यसबाट सन्तुलित वितरणको खाका र बजेटको सीमा निर्धारण गरिन्छ ।


Facebook Comments