भेनेजुएलाकी नेता माचाडोले ट्रम्पलाई सुम्पिइन् आफ्नो नोबेल शान्ति पुरस्कार

User Image मेयरसाप डेस्क | २०८२ माघ २ गते १३:३८
Image of https://mayorsap.com/storage/photos/shares/macahdo-1612026074628-1000x0.jpg

एजेन्सी । नोबेल शान्ति पुरस्कार विजेता तथा भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना माचाडोले आफ्नो नोबेल पदक अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई प्रदान गरेकी छिन् । बिहीबार ह्वाइट हाउसमा भएको निजी भेटघाटका क्रममा उनले ट्रम्पलाई उक्त पदक हस्तान्तरण गरेकी हुन् ।

अमेरिकी सेनाको सहयोगमा भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो सत्ताच्युत भएको केही सातापछि माचाडोले यो कदम चालेकी हुन् । माचाडोले यस कार्यलाई दुई सय वर्ष पुरानो ऐतिहासिक सम्बन्धको पुनरावृत्तिका रूपमा व्याख्या गरिन् ।

सन् १८२५ मा मार्किस डे लाफायेटले जर्ज वासिङ्टनको पदक भेनेजुएलाका संस्थापक सिमोन बोलिभरलाई दिएको प्रसंग स्मरण गर्दै उनले अहिले बोलिभरका सन्तानले वासिङ्टनका उत्तराधिकारीलाई स्वतन्त्रताप्रतिको प्रतिबद्धता स्वरूप पदक फिर्ता गरेको बताइन् ।

यद्यपि, नोबेल शान्ति पुरस्कार समितिले यस कार्यप्रति असन्तुष्टि जनाउँदै पुरस्कार हस्तान्तरण गर्न नमिल्ने स्पष्ट पारेको छ । समितिले एक विज्ञप्ति जारी गर्दै नोबेल पुरस्कारको घोषणा अन्तिम र स्थायी हुने भएकाले यसको स्वामित्व कसैलाई बाँड्न वा हस्तान्तरण गर्न नमिल्ने कानुनी प्रावधान सम्झाएको छ ।

भेनेजुएलामा मदुरोको बहिर्गमनसँगै ट्रम्प प्रशासनले त्यहाँको तेल क्षेत्रमा प्रभाव बढाएको छ भने वासिङ्टनमा भेनेजुएलाली दूतावास पुनः सञ्चालनको तयारी समेत भइरहेको छ ।


Facebook Comments