स्थानीय तहको नाम र हिज्जेमा एकरूपता ल्याउन निर्देशन
७५३ वटै पालिकालाई मन्त्रालयको परिपत्र
मेयरसाप डेस्क
|
२०८२ माघ २ गते १४:०४
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७५३ वटै स्थानीय तहलाई आफ्नो नेपाली र अङ्ग्रेजी नामको हिज्जेमा एकरूपता कायम गर्न निर्देशन दिएको छ ।
विभिन्न सरकारी कागजातहरूमा पालिकाको नाम र वर्णविन्यास फरक–फरक हुँदा सेवाग्राहीले कानुनी र प्रशासनिक झन्झट भोग्नुपरेपछि मन्त्रालयले यो निर्देशन दिएको हो ।
मन्त्रालयको संघीय मामिला शाखाले हालै परिपत्र जारी गर्दै स्थानीय तहहरूलाई १५ दिनभित्र आफ्नो नामको आधिकारिक हिज्जे पठाउन भनेको छ ।
नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, जग्गाधनी पुर्जा र शैक्षिक प्रमाणपत्र जस्ता महत्त्वपूर्ण कागजातमा एउटै पालिकाको नाम फरक–फरक तरिकाले लेखिँदा विवरण बाझिने समस्या देखिएको छ ।
विशेष गरी अङ्ग्रेजी नामको हिज्जेमा एकरूपता नहुँदा सेवाग्राहीले ठूलो सास्ती खेप्नुपरिरहेको मन्त्रालयको निष्कर्ष छ ।
निर्देशनअनुसार, अब प्रत्येक स्थानीय तहले आफ्नो कार्यपालिकाबाट आधिकारिक निर्णय गराई नेपाल राजपत्रमा प्रकाशित नामसँग मेल खाने गरी सही हिज्जे मन्त्रालयमा बुझाउनुपर्नेछ ।
मन्त्रालयले यो विवरण सङ्कलन गरिसकेपछि सबै सरकारी डिजिटल प्रणाली, पोर्टल र वेबसाइटहरूमा एउटै नाम र हिज्जे कायम गर्ने योजना बनाएको छ ।
Facebook Comments