सभापति थापा भन्छन्–चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन

चुनाव पछाडि पनि सबैलाई मिलाएर लैजान कांग्रेसले मात्र सक्ने दाबी

User Image मेयरसाप डेस्क | २०८२ माघ २४ गते १६:१०
Image of https://mayorsap.com/storage/photos/shares/gagan-in-sarlahi.jpg

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्न नहुने बताएका छन् । गोकर्णश्वरमा सर्लाहीका मतदातासँगको अन्तरक्रियामा बोल्दै थापाले चुनाव पछाडि पनि सबैलाई मिलाएर लैजान कांग्रेसले मात्र सक्ने दाबी गरेका हुन् । 

उनले भने, ‘चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन। चुनाव पछाडि फेरि बनाएको सिंहदरबार जल्नु हुँदैन। चुनाव पछाडि फेरि नयाँ बनेको संसदको भवन जल्नु हुँदैन। चुनाव पछाडि सरकारको गोलीबाट कुनै युवा पनि मारिनु हुँदैन। चुनाव पछाडि सडकमा कोही आएर फेरि आफ्नो रिस प्रकट गर्ने अवस्था पनि बन्न दिनुहुन्न। चुनाव पछाडि पनि सबैलाई मिलाएर लिएर जानुपर्छ। रिस, उत्तेजनाले मात्र हुँदैन। घृणाले मात्र हुँदैन। सबैलाई मिलाएर लिएर जाने साहस कांंग्रसले राख्छ।’

बदलिएको कांग्रेसले हिजो नेपाली कांग्रेसले गरेका सबै राम्रा कामहरू बोकेर आएको र गल्ती कमजोरी स्वीकार गरेर आएको बताएका छन्। 

उनले भने, ‘जे जति खराब कामहरू भए, कसैलाई दोष दिन्न म। म पनि त्यहीँ भित्र थिएँ। कुनै व्यक्ति, पात्रलाई दोष दिएर पनि हुँदैन। समाजमा एकले अर्कालाई दोष लगाएर तँ खराब, म असल भनेर पनि हुँदैन। हामी एउटै समाजमा बस्छौँ।’


Facebook Comments