दुधैला खोलामा भेटिएको बम विस्फोट हुँदा बनभोज खान गएका ४ बालक घाइते
मेयरसाप डेस्क
|
२०८२ माघ २४ गते १७:२१
सप्तरी । सप्तरीको रुपनी गाउँपालिका–६ दुधैला खोलामा शंकास्पद वस्तु विस्फोट हुँदा ४ जना बालक घाइते भएका छन् । बम बिस्फोट हुँदा बनभोज खान गएका चार जना बालक घाइते भएका हुन् ।
बनभोज खान गएका बालकले खोलामा भेटिएको सकेट बमजस्तो देखिने खेलौना दाउरासँगै जम्मा गरेर राखेका थिए । चुल्हो नजिक राखिएको उक्त वस्तुअचानक विस्फोट भएको हो ।
उक्त विस्फोटमा छर्रा लागेर सोही ठाउँका साजन आले मगरका ११ वर्षका छोरा साहस, मनोज थापा मगरका ९ वर्षका छोरा प्रशिस, कर्णबहादुर थापा मगरका १६ वर्षका छोरा कविर र पदमबहादुर विकका १३ वर्षको छोरा सुरज घाइते भएका छन् । उनीहरुलाई मधेश प्रदेश प्रहरी अस्पताल रुपनीमा उपचारपछि थप उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज लगिएको छ।
उक्त स्थान नेपाली सेनाको अभ्यास स्थल रहेको र सेनाले बिर्सिएर छोडेको वा बम विस्फोट गर्ने क्रममा असफल भई हराएको बम बिस्फोट भएको हुन सक्ने स्थानीयले आशंका गरेका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
Facebook Comments