नागरिकले चाहेजस्तो परिमार्जन र रुपान्तरण गरेर निर्वाचनमा होमिएका छौंः महामन्त्री पौडेल

No Author Assigned | २०८२ माघ २५ गते १७:५१
Image of https://mayorsap.com/storage/photos/shares/photo-1-31eb6922.png

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नागरिकको अपेक्षा अनुसार नीति र नेतृत्व दुवै सच्चिएर आएकाले पार्टीले नागरिकको विश्वास जित्ने अपेक्षा गरेका छन् ।

काठमाडौं ५ मा क्षेत्रीय कार्य समितिले आयोजना गरेको सदस्य भेलामा बोल्दै सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका उनले भदौ २३ को आन्दोलनले आफूहरुलाई नै खबरदारी गरेको भन्दै कमजोरी स्वीकार गरेर नागरिकले चाहेजस्तै परिमार्जन र रुपान्तरण गरेर पार्टी निर्वाचनमा होमिएको बताए ।

‘हामीले तपाईंले भने जस्तो कांग्रेस बनायौं । खोजेजस्तो कांग्रेसले नै देश रुपान्तरण गर्छ । मत दिएर सघाउनुस् भनेर भन्न जरुरी छ,’ महामन्त्री पौडेलले भने ।

भदौ २३ ले खबरदारी गरेको भन्दै आफूहरुले कमजोरी स्वीकार गरेर सच्चिएको बताए ।
‘भदौ २३ मा कांग्रेसलाई नै खबरदारी गर्ने गरी नेपालमा क्रान्ति भयो,’ उनले भने, ‘हामीले गगन थापाको नेतृत्वमा कमजोरी स्वीकार्न ढिला गरेनौं । भित्रबाटै सच्चिनुपर्छ भनेका थियौं । अन्ततः नागरिकले चाहेजस्तो परिमार्जन र रुपान्तरण गरेर निर्वाचनमा होमिएका छौं ।’

नेतृत्व र विचार प्रष्टबाट परिवर्तन गरेर आएको भन्दै उनले नागरिकले सच्चिएर रुपान्तरित भएर आउ भनेकाले त्यसै अनुसार सच्चिएको बताए ।

जन्मको आधारमा पुरानो भए पनि विचारले कांग्रेस कांग्रेसजस्तो नयाँ अरु हुन नसक्ने भन्दै उनले कसैबाट विचार आयात गरेर जर्बजस्त राजनीति नगरेको बताए ।

समाजको चाहनाअनुसार नै नयाँ ढंगबाट पार्टी अघि बढिरहेको उनले बताए । कार्यकारी को हुन्छ भन्ने विषय आम नागरिकको जान्न पाउने हक भएकाले त्यसको सम्मान गरेरै गगन थापालाई उम्मेदवार घोषणा गरेका गरेको समेत उनले बताए ।

 


Facebook Comments