नख्खु कारागारबाट भागेर बालेनको डेरामा चोरी, तीन जना पक्राउ
मेयरसाप डेस्क
|
२०८२ माघ २५ गते १६:३७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को घरमा चोरी गर्ने तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले ललितपुरको नख्खु कारागारबाट फरार भएर उपत्यकामा शृंखलाबद्ध चोरी गरिरहेका मुख्य योजनाकारसहित तीन जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा काठमाडौं–१६ बालाजुका ४२ वर्षीय विष्णुबहादुर राजवाहक, सिन्धुपाल्चोकको लिसंखुपाखर–६ का ४६ वर्षीय खिमबहादुर खड्का र डोटीको दिपायल सिलगडी नगरपालिका–६ का ४५ वर्षीय सञ्जय श्रेष्ठ छन् ।
उनीहरूले चप्पल कारखानास्थित सितादेवी गुरुङको घरमा रहेको बालेन शाहको डेरामा चोरी गरेका थिए । पक्राउ पर्ने मुख्य अभियुक्त नख्खु कारागारबाट भागेका ४२ वर्षीय मनिष राजवाहक हुन्।
राजवाहकलाई प्रहरीले २३ माघमा बाँसबारीबाट पक्राउ गरेको हो । उनीविरुद्ध यसअघि २४ जेठ २०७२ मा प्रहरी वृत्त कालिमाटी केही साधारण अपराधको कसुरमा र ८ असार २०७२ मा प्रहरी वृत्त महाराजगञ्जबाट चोरीको कसुरमा मुद्दा चलेको भेटिएको छ । उनी २४ भदौमा जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार भएका थिए ।
नख्खु कारागारबाट भागेपछि उनी पाँच वटा चोरीमा संलग्न रहेको देखिएको प्रहरीले बताएको छ । उनी निर्माणाधीन घरबाट धारा, टुटी तथा अन्य घरहरूमा चाँदीका गिलास, कचौरा, दियो र चाँदीका प्लेटहरू चोरी गरेको प्रहरीले बताएको छ ।
काठमाडौं महानरपालिका–२६ मा रहेको क्लासिक एण्ड लज इन गेष्ट हाउसको कोठा नम्बर ४०२ मा बस्दै आएका उनको कोठाबाट प्रहरीले वर्ल्ड लिंक लेखिएको राउटर र सीसीक्यामेरा २ थान बरामद गरेको छ ।
त्यस्तै उनको साथबाट प्रहरीले एक्रोन गोल्ड लेखिएको निलो बिँड भएको पिलास १ थान, सलाई रेन्ची, रेती, स्क्रु र कालो रंगको ज्याकेट बराबद भएको छ ।
Facebook Comments