Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

नेपाल–कतार संयुक्त व्यवसाय परिषद् मण्डल काठमाडौंमा

द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धिबारे छलफल हुने

User Image मेयरसाप डेस्क | २०८२ माघ २६ गते १०:१२
Image of https://mayorsap.com/storage/photos/shares/photo-2-74aee91e.jpeg

काठमाडौं । कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (क्युसीसीआई) को एक प्रतिनिधिमण्डल नेपाल उद्योग वाणिज्य महासंघ (अफएनसीसीआई) र कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीबीच गठन गरिएको संयुक्त व्यवसाय परिषद् (जेबीसी) सम्बन्धी छलफलका लागि काठमाडौं आइपुगेको छ।

संयुक्त व्यवसाय परिषद् स्थापना सम्बन्धी सम्झौता सन् २०२४ अप्रिलमा कतार राज्यका महामहिम अमिर शेख तमीम बिन हमद अल थानीको नेपाल भ्रमणका क्रममा हस्ताक्षर भएको थियो । यस सम्झौताले नेपाल र कतारबीचको आर्थिक सहकार्यलाई थप सुदृढ बनाएको छ ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको निमन्त्रणामा काठमाडौं आएको कतारी प्रतिनिधिमण्डलको नेतृत्व कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका बोर्ड सदस्य मोहद अहमद एम. ए. अलोबैद्लीले गरेका छन् ।

माघ २६ र २७ गते (फेब्रुअरी ९ र १० तारिख) काठमाडौंमा परिषद्को बैठक बस्नेछ । संयुक्त व्यवसाय परिषद् नेपाल र कतारका निजी क्षेत्रबीच संवाद, व्यवसायिक सहकार्य तथा प्रत्यक्ष संलग्नता प्रवद्र्धन गर्ने संरचित मञ्चका रूपमा स्थापना गरिएको हो ।

काठमाडौं बसाईका क्रममा प्रतिनिधिमण्डलले उच्चस्तरीय भेटघाटहरू गर्नेछ । प्रतिनिधिमण्डलले अर्थमन्त्री रमेश्वर प्रसाद खनाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हा तथा नेपाल राष्ट्र बैंकका गभर्नर डा। बिश्वनाथ पौडेलसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

संयुक्त व्यवसाय परिषद्ले अन्तिम रूप दिई सक्रिय बनाउनु द्विपक्षीय व्यापार विस्तार, लगानी प्रवाह प्रोत्साहन तथा दुवै देशका व्यवसायीहरूबीच साझेदारी सुदृढ गर्न महत्वपूर्ण हुने महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बताए । अध्यक्ष ढकालका अनुसार छलफलहरू परिषद्लाई व्यवहारिक र परिणाममुखी बनाउने तथा सहकार्यका ठोस क्षेत्र पहिचानमा केन्द्रित रहनेछन् ।

नेपाल र कतारबीच लामो समयदेखि सौहार्दपूर्ण सम्बन्ध र सशक्त जनस्तरीय सम्पर्क रहेको छ, जुन अहिले थप गहिरो आर्थिक सहकार्यतर्फ अघि बढिरहेको छ । पछिल्ला उच्चस्तरीय द्विपक्षीय भेटघाटहरूले निजी क्षेत्रको सहभागिता बढाउन सकारात्मक वातावरण सिर्जना गरेको छ, र महासंघले यस भ्रमणलाई त्यस दिशामा समयोचित कदमका रूपमा लिएको छ ।

नेपालमा जलविद्युत् तथा नवीकरणीय ऊर्जा, पर्यटन, कृषि–प्रशोधन, सूचना प्रविधि, उत्पादन, पूर्वाधार, स्वास्थ्य र शिक्षा लगायतका क्षेत्रमा आकर्षक लगानी अवसरहरू उपलब्ध छन् ।

नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठनका रूपमा महासंघले विदेशी लगानी सहजीकरण, संस्थागत सहकार्य सुदृढीकरण तथा व्यवसाय–देखि–व्यवसाय सम्पर्क प्रवद्र्धनमा प्रतिबद्ध रहेको छ । यस बैठकका उपलब्धिहरूले आगामी दिनमा नेपाल–कतार आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने र व्यापार तथा लगानी वृद्धि गर्न योगदान पु¥याउने महासंघको अपेक्षा रहेको छ ।


Facebook Comments