Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

मुगुको दोमुख पुल निर्माण सुस्त, स्थानीय आवतजावत अझै कठिन

४ वर्षमा करिब २ प्रतिशत मात्र प्रगति

User Image मेयरसाप डेस्क | २०८२ फागुन ९ गते ०९:४१
Image of https://mayorsap.com/storage/photos/shares/photo-19-90a76417.jpg

मुगु । हिमाली जिल्ला मुगुको सोरुगाउँपालिकामा निर्माणाधीन दोमुख पक्की पुल ठेक्का सम्झौता भएको चार वर्ष बितिसक्दा पनि निर्माण कार्य अत्यन्तै सुस्त देखिएको छ । हुम्ला–कर्णाली करिडोर तथा मुगुको गमगढी, तारापानी र नाक्चेलाग्ना सडक जोड्ने रणनीतिक महत्वको उक्त पुलमा हालसम्म करिब २ प्रतिशत मात्र प्रगति भएको पाइएको छ ।

आर्थिक वर्ष 'आव' २०७७÷०७८ मा ठेक्का नम्बर २ अन्तर्गत दोमुख पक्की पुल निर्माणका लागि २०७८ साल पुस १४ गते पूर्वाधार विकास कार्यालय मुगु र श्री मृत संजीवनी निर्माण सेवा प्रा।लि।, हेटौँडा, मकवानपुरबीच सम्झौता भएको थियो । सम्झौताअनुसार २०८१ साल मंसिर ३० गतेभित्र निर्माण सम्पन्न गर्ने गरी १ सय मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल १५ करोड ९३ लाख ७३ हजार ९ सय ४१ रुपैयाँ ९३ पैसा 'मूल्य अभिवृद्धि करसहित' मा निर्माण गर्ने सहमति भएको थियो ।

तर, निर्धारित समयमा काम सम्पन्न नभएपछि विभिन्न बहाना देखाउँदै ठेकेदार कम्पनीले म्याद थप गराउँदै आएको छ । पछिल्लो पटक २०८३ साल मंसिर २९ गतेसम्म सम्पन्न गर्ने गरी पुनः म्याद थप गरिएको छ । कार्यालयले पटक–पटक पत्राचार गरी काम अघि बढाउन आग्रह गरे पनि हालसम्म प्रभावकारी प्रगति हुन सकेको छैन् ।

पूर्वाधार विकास कार्यालय मुगुका सूचना अधिकारी मनमोहन सिंह खड्काका अनुसार निर्माण कम्पनीका प्रतिनिधि हालै आयोजना स्थलमा पुगेका छन् र आर्थिक वर्ष २०८३÷०८४ भित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

सोरुगाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले स्थानीय तहका तर्फबाट पटक–पटक जिल्ला पूर्वाधार विकास कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा निर्माण कम्पनीसँग पहल गर्दा पनि काममा उल्लेख्य प्रगति नभएको बताए । “अहिले प्रतिनिधि आएको भनिए पनि छिट्टै काम सम्पन्न हुन्छ भन्ने विश्वास गर्न सकिने अवस्था छैन् । पुनः म्याद थप्ने प्रयास मात्र हुने जस्तो देखिन्छ । अब स्थानीय तहले आफ्नो भूमिकालाई कडाइका साथ अघि बढाउनेछ,” उनले भने । स्थानीय बासिन्दा सुन्तला मल्लका अनुसार पुल निर्माणको खबर सुन्दा स्थानीयवासी निकै उत्साहित भएका थिए ।

“चार वर्ष बितिसक्दा पनि काम नदेखिँदा निराशा बढेको छ । अहिले पनि मानिस र खच्चरमार्फत सामान ढुवानी गर्नुपरेको छ । पुल नहुँदा एक घण्टाको दूरी पार गर्न ३–४ घण्टा लाग्ने गरेको छ,” उनले भनिन् । पुल निर्माण भए रारा ताल घुम्न आउने पर्यटक तथा गमगढी सदरमुकाम र आसपासका बस्तीमा आवतजावत गर्ने नागरिकलाई ठूलो सहजता हुने उनको भनाइ छ ।

निर्माण कम्पनीका इन्जिनियर कुमार यादवले भने भूगोल अध्ययन, डिजाइन तयारी तथा ढुवानी समस्या लगायतका कारण ढिलाइ भएको स्वीकार गर्दै आगामी सात हप्ताभित्र काम सुरु गर्ने दाबी गरेका छन् ।

दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको दोमुख पक्की पुल निर्माण चार वर्ष बितिसक्दा पनि नगण्य प्रगतिमा सीमित हुनु सम्बन्धित निकाय र निर्माण कम्पनीको लापरवाहीको संकेत भएको स्थानीयको आरोप छ । सरोकारवाला निकायले समयमै आवश्यक पहल नगरे पुल निर्माण थप लम्बिने सम्भावना देखिएको छ ।


Facebook Comments