इरानमा पुनः चर्कियो सरकार विरोधी प्रदर्शन
मेयरसाप डेस्क
|
२०८२ फागुन ९ गते ११:५६
एजेन्सी । इरानका प्रमुख विश्वविद्यालयहरूमा सरकारविरुद्ध विशाल प्रदर्शन सुरु भएको छ । गत महिना सरकारले आन्दोलनकारीमाथि गरेको दमनपछि यो अहिलेसम्मकै ठूलो प्रदर्शन भएको बीबीसीले जनाएको छ ।
राजधानी तेहरानस्थित सरिफ युनिभर्सिटी अफ टेक्नोलोजीमा विद्यार्थी र सरकार समर्थकबीच हिंसात्मक झडप भएका भिडिओहरू सार्वजनिक भएका छन् । आन्दोलनको राप तेहरानका अन्य शैक्षिक संस्थादेखि उत्तरपूर्वी इरानसम्म फैलिएको छ ।
प्रदर्शनकारीहरूले गत जनवरीको आन्दोलनमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै न्यायको माग गरेका छन् । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको स्थितिप्रति कडा टिप्पणी गर्दै जनवरीको प्रदर्शनमा करिब ३२ हजार मानिस मारिएको दाबी गरेका छन् ।
इरानले आणविक हतियार बनाउन लागेको आशंकामा अमेरिका र युरोपेली देशहरू सशंकित बनिरहेका बेला ट्रम्पले इरानविरुद्ध ’सीमित सैन्य कारबाही’ गर्नेबारे विचार भइरहेको बताएका छन् । अमेरिकाले इरान आसपासका क्षेत्रमा आफ्नो सैन्य उपस्थिति समेत बढाएको छ ।
तनावका बीच कूटनीतिक प्रयास पनि जारी देखिएका छन् । स्विट्जरल्यान्डमा मंगलबार भएको दोस्रो चरणको वार्तामा केही सकारात्मक प्रगति भएको दुवै पक्षका अधिकारीहरूले स्वीकार गरेका छन् । यद्यपि, आन्तरिक विद्रोह र बाह्य सैन्य दबाबका कारण इरानी सरकार अहिले निकै ठूलो संकटमा घेरिएको देखिन्छ ।
Facebook Comments