Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

काठमाडौंमा ‘भू–सेवा केन्द्र’ सुरु, जग्गासम्बन्धी सेवा वडाबाटै हुने

मालपोत धाउनुपर्ने झन्झट अन्त्य

User Image मेयरसाप डेस्क | २०८२ फागुन ९ गते १३:४७
Image of https://mayorsap.com/storage/photos/shares/kathmandu-1.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाले नागरिकलाई जग्गासम्बन्धी प्रशासनिक सेवा घरदैलोमै उपलब्ध गराउन ‘भू–सेवा केन्द्र’ र ‘भू–सूचना प्रणाली’ सञ्चालनमा ल्याएको छ । आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा. डा. कुमार इङ्नामले यो सेवाको औपचारिक शुभारम्भ गरेका हुन् ।

यो प्रणाली लागू भएसँगै अब जग्गा किनबेचका लागि तमसुक बनाउने, बायोमेट्रिक विवरण लिने, राजस्व संकलन गर्ने, बैंक प्रयोजनका लागि जग्गा रोक्का तथा फुकुवा गर्ने र जग्गाको पुर्जा प्रिन्ट गर्ने जस्ता कार्यका लागि मालपोत कार्यालय धाइरहनु पर्ने छैन । यी सबै सेवाहरू अब महानगरका तोकिएका वडा कार्यालयबाटै प्राप्त हुनेछन् ।

महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार पहिलो चरणमा ‘पाइलट प्रोजेक्ट’ का रूपमा १० वटा वडाबाट यो सेवा सुरु गरिएको छ । जसमा वडा नम्बर ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ रहेका छन् । प्राविधिक र भौतिक तयारी पूरा गरी निकट भविष्यमै महानगरका सबै ३२ वटै वडाबाट यो सेवा विस्तार गर्ने तयारी छ ।

कार्यक्रममा मन्त्री इङ्नामले काठमाडौं उपत्यकाका ९५ प्रतिशत नागरिकको मुख्य सम्पत्ति जग्गा नै रहेकाले प्रशासनिक झन्झट मुक्त बनाउन यो कदम चालिएको बताए । यसबाट मालपोत कार्यालयमा हुने भीडभाड कम हुने र नागरिकले सहज रूपमा सरकारी सेवा पाउने विश्वास गरिएको छ ।


Facebook Comments