४३ जिल्लामा पुग्यो निर्वाचन सामग्री, हिमाली क्षेत्रमा हवाईबाट ढुवानी
निर्वाचनको तयारी तीव्र
मेयरसाप डेस्क
|
२०८२ फागुन ९ गते १८:०२
काठमाडौं । आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले देशभर निर्वाचन सामग्री ढुवानी गर्ने कार्यलाई तीव्र बनाएको छ । हालसम्म ४३ जिल्लामा निर्वाचन सामग्री पुर्याइसकिएको नेपाली सेनाले जनाएको छ ।
सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार बाँकी जिल्लाहरूमा पनि सामग्री पठाउने क्रम जारी छ । ‘अहिलेसम्म ४३ जिल्लामा सामग्री पुगिसकेको छ, १२ जिल्लामा ढुवानी भइरहेको छ भने बाँकी २२ जिल्लामा छिट्टै पुग्नेछ,’ प्रवक्ता बस्नेतले जानकारी दिए ।
भौगोलिक रूपमा विकट रहेका हिमाली जिल्लाहरूमा भने सेनाले हवाई साधनको प्रयोग गरिरहेको छ । हुम्ला, मुगु र डोल्पामा हवाई मार्गबाटै सामग्री पुर्याइएको छ । आज मात्रै नेपाली सेनाको ’स्काई ट्रक’ मार्फत डोल्पामा मतपत्र, मतपेटिका, मसी, स्वस्तिक छाप र मतदाता नामावली लगायतका आवश्यक सामग्री पुर्याइएको छ ।
सेनाले अब मनाङ र मुस्ताङमा पनि हवाई साधनमार्फत नै निर्वाचन सामग्री ढुवानी गर्ने तयारी गरेको छ । निर्वाचनलाई निष्पक्ष र समयमै सम्पन्न गराउन सुरक्षा व्यवस्थासँगै सामग्री व्यवस्थापनमा सेनाले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।
Facebook Comments