Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

८ वर्षअघिको एउटा फुच्चे केटो सांसद बन्ने लाइनमा छ !

User Image रामचन्द्र मिश्र | २०८२ फागुन ९ गते १८:३८
Image of https://mayorsap.com/storage/photos/shares/kailali-2-ummdwar.png
तस्बिर: एआइकाे सहयाेगमा

काठमाडौं । २०७४ को दसैँ भर्खर सुरु हुँदै थियो । १२ कक्षा पढ्दै गरेको एक फुच्चे केटो दसैँ मनाउने योजना बुन्दै थियो । अछामको उक्त केटो कैलालीमा बस्थ्यो । उसले दसैँ फरक तरिकाले कसरी मनाउने होला भनेर सोच्दै थियो, गरिब, एकल महिला र बेबारिसेहरुलाई सम्झियो । २० हजार रुपैयाँ बराबरको पैसा सहयोग खोजेर २० घर परिवारलाई केही बोरा चामल र लत्ता कपडा सहयोग गर्ने उसको सोच पलायो । नभन्दै असोज ५ गते उसले फेसबुकमार्फत सहयोगको अपिल गर्यो ।

आब्हान गरेको केही समयमै धेरैले उत्साही भएर उसलाई सहयोग गर्न थाले। त्यसपछि यो केटाले टिम बनाएरै कैलालीका एकल महिला, गरिब, सहारा नभएका व्यक्तिलाई लत्ताकपडा–खानेकुरा दियो । एक तरिकाले भन्ने हो भने दुखी र गरिबहरुको घरमा दसैँ ल्याइदियो । 

त्यसको कही दिनपछि असोज ८ गते, त्यही केटो कान्तिपुर पत्रिका हेरिरहेको थियो । एउटा समाचारमा आँखा टक्क गयो । समाचारमा लेखिएको थियो ‘चामलभन्दा सस्तो जीवन ।’ दसैँको मुखैमा लेखिएको यो समाचारले त्यो फुच्चे केटाको मन बहकायो । उसले सोच्यो, ‘चामल किनेर केही परिवारलाई दिन पाए त हुन्थ्यो ।’ सामाजिक सञ्जाल फेसबुकबाट त्यो केटाले फेही आब्हान गरिहाल्यो, यो दसैँमा गरिबका लागि चामल–खानेकुरा किनेर दिन तपाईँको फेरि सहयोग आवश्यक छ । फेसबुकमा लाइभमार्फत पनि जानकारी दियो । उसलाई त्यो उमेरमा सामाजिक काममा लागेको देखेर धेरैले सहयोग गर्न थाले । केटोले सोचेभन्दा बढी सहयोग पाउन थाल्यो । त्यो केटो अरु कोही नभएर कक्षा ११÷१२ मा पढ्दै गरेको केपी खनाल थियो । अहिले २०१७ मा राहत बाँडेकै ठाउँ– कैलाली क्षेत्र नम्बर २ बाट सांसद बन्न केपी भोट मागिरहेका छन् ।

सामाजिक काममा सक्रिय हुन केपी खनाललाई त्यहीँबाट धेरै प्रेरणा मिलेको देखिन्छ । त्यसपछि उनले हुम्लामै अनाथहरु बस्ने आश्रम बनाए । राजेश हमाल लगेर उत्घाटन गरे । काठमाडौंमा आएर सडकमा झाडु लगाउन थाले । राती राती काठमाडौंका घरका मान्छेले बाटामा फोहोर फाल्छन् कि भनेर गार्ड बस्न थाले । फोहोर फाल्नेलाई सचेत गराउन थाले । मेयर, सांसददेखि मन्त्रीसमेतलाई सडक बढार्न लगाए ।

त्यही अभियानले एउटा फुच्चे केटो अहिले सांसद बन्ने लाइनमा छन् । समय सधैँ कहाँ एकनास हुन्छ र, जेनजी आन्दोलनअघिसम्म सामाजिक अभियानबाट वाहवाही कमाइरहे पनि भदौं २३ केपी खनालका लागि घातक नै बन्यो । सधैँ सामाजिक काम र अभियानहरुमा सफल केपी खनाल भदौं २३ पछि भने आलोचनाको सिकारमा परे । ठूला दलका नेता, पुराना राजनीतिक कर्मीलाई आफ्नै क्याफेमा बोलाएर चिया खुवाउने अनि फोटो खिचेर सामाजिक सञ्जालमा हालेर चर्चा कमाउने केपीलाई ती फोटा सामाजिक सञ्जालमा हालेकोमा सायद त्यो दिन, रिग्रेट नै भयो होला ।

भदौ २३ कै दिन, जेनजी आन्दोलनको नेतृत्वकर्ता हुँ भनेर गाडीमा भाषण गर्दै हिँड्दै थिए केपी, प्रहरीसँगको जेनजी युवाहरुको टकराबपछि आन्दोलनको मैदान छाडेर बाँच्नलाई भाग्नुपर्ने अवस्था आइपर्यो । केपी ओली–शेरबहादुर देउवाको सत्तालाई दख्खल दिन हिँडेका यी साना केपी ठूलै केपीजसरी सात दिन खान र पिउन विद्यालयमा लुकेर बसे । 

खनालले जेनजी आन्दोलनमा माइक बोकेर भाषण गरिरहेको भिडियो सञ्चारमाध्यम हुँदै सामाजिक सञ्जालमा भाइरल भयो । उनलाई एमाले–कांग्रेस–माओवादी सबैसँग नजिक भएको भन्दै सामाजिक सञ्जालबाटै लखेटियो । कारण थियो–उनको राजनीतिक पहुँच । त्यही बेला हो– काठमाडौंमा अछामको गरिब परिवारबाट आएको केपीले कसरी घर बनायो भनेर प्रश्न उठाइयो । शक्तिशालीहरुसँग निकट भएर लाभ लिएको आरोप लाग्यो । यता पनि लपक्कै उता पनि लपक्कै भन्ने डे्रण्ड गीतमा पनि उनी छाए ।

अवसर क्याच गर्न माहिर खनाल जति लखेटिए, त्यति नै फेरि चर्चामा रहिरहे । कत्तिले त भन्छन, भाग्य होस् त केपीको जस्तो । ठूला केपी होइन, साना केपी । बालेनसँगै राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरे । केन्द्रीय सदस्य बने। सांसदको टिकट पनि पाए । अहिले हरेक मतदातासँग आशिर्वाद माग्दै हिँडेका छन् । सायद निर्वाचनमा जितेभने कान्छा सांसदको सूचीमा यिनको पनि नाम चढ्ने देखिन्छ ।

कैलाली–२ : पुराना गढमा नयाँ चुनौती

कैलाली–२ परम्परागत रूपमा बहुदलीय प्रतिस्पर्धाको क्षेत्र हो। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी विजयी भएको क्षेत्र हो यो । समानुपातिकतर्फ पनि नागरिक उन्मुक्ति पहिलो दल बनेको थियो। एमाले, कांग्रेस, नागरिक उन्मुक्ति र अन्य वाम शक्तिहरूको प्रभाव यहाँ बलियो छ। रास्वपा नयाँ छ । 

स्थानीय तह निर्वाचनको मतपरिणाम हेर्दा एमाले मतसंख्यामा अगाडि देखिएको थियो। थारू समुदायको निर्णायक मत, पहाडी–तराई मिश्रित जनसंख्या र वैदेशिक रोजगारीमा रहेका युवाको प्रभाव – यी सबै यहाँका चुनावी फ्याक्टर हुन्। 

भूगोल र समुदायको हिसाबले पनि खनाललाई यो क्षेत्रमा चुनाव जित्न निक्कै सकस हुने देखिन्छ । चुनाव जित्ने खनालको रणनीति भने फरक देखिन्छ –

विदेशिएका युवालाई परिवारसँग फोन गर्न लगाउने

पुराना दलप्रतिको वितृष्णालाई मुद्दा बनाउने

युवा परिचालनमार्फत मत परिवर्तन अभियान चलाउने

तर चुनौती सानो छैन। एमालेबाट जिल्ला समन्वय समितिका पूर्वप्रमुख सूर्यबहादुर थापा उम्मेदवार छन् । कांग्रेसबाट यातायात व्यवसायी विजयबहादुर स्वाँर उम्मेदवार बनेका छन् । यिनी पैसा र पहुँच भएका शक्तिशाली व्यक्ति मानिन्छन् । पूर्व प्रदेशसभा सदस्य नन्दबहादुर साउँद नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका छन् । नागरिक उन्मुक्ति पार्टीबाट पतिराम चौधरी उम्मेदवार छन् । 
२०७९ को समानुपातिक मतपरिणाम अनुसार नागरिक उन्मुक्ति – १९ हजार ५९७ मत पाएको थियो । एमालेले १२ हजार ८१८ मत ल्याएको थियो । कांग्रेसले १० हजार १७९ मत ल्याएको थियो । माओवादी केन्द्रले ७ हजार १६९ मत प्राप्त भएको थियो । रास्वपाले ४ हजार ५४ मत ल्याएको थियो भने राप्रपाले २ हजार ५९६ मत प्राप्त गरेको थियो । यसपटक १६ जना उम्मेदवार यो क्षेत्रको चुनावी मैदानमा छन्।

मोहोन्याल गाउँपालिका, लम्कीचुहा नगरपालिका, बर्दगोरिया गाउँपालिका र जानकी गाउँपालिका समेटिएको यस क्षेत्रमा १ लाख ७ हजार ७५५ मतदाता छन्। यहाँ थारू मत निर्णायक छ। परम्परागत दलको संगठन बलियो छ। नयाँ शक्तिले मत विभाजनबाट फाइदा लिन सक्छ। यदि युवा मत उच्च प्रतिशतमा खनालतर्फ ध्रुवीकृत भयो भने परिणाम चकित पार्ने हुन सक्छ। तर परम्परागत मत संरचना जस्ताको तस्तै रह्यो भने घण्टीको आवाज कमजोर पक्कै हुन्छ। चुनाव भावनाले होइन, अंकगणितले जितिन्छ।

फागुन २१ मा साँच्चै देशमा घण्टी बज्छ? कि कैलाली–२ मा फेरि पुरानै शक्ति सन्तुलन दोहोरिन्छ? अन्तिम निर्णय मतपेटिकामा खसेको मतले दिनेछ।

 


Facebook Comments