चुनावको मुखैमा रास्वपामा बबण्डर : पार्टी छाड्नेको ताँती, कसले भाँड्यो घण्टी?
कांग्रेस–एमाले गदगद !
जनेश ठकुल्ला
|
२०८२ फागुन ११ गते १५:४०
देशभर राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको लहर र उभार देखिएका बेला, चुनावको मुखैमा पार्टीभित्र बबन्डर सुरु भएको छ । आगामी २१ गते हुने निर्वाचनको संघारमा एकातिर रास्वपाको लहर चल्दैछ । तर अर्कोतिर पार्टी छाड्नेहरूको लर्को पनि उस्तै छ । रास्वपाका उच्च पदस्थ नेताहरू नै अहिले धमाधम पार्टी परित्याग गर्दै हिँडेका छन् ।
रास्वपा छाड्नेहरूको ताँती र सूची निकै लामो छ । मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्मा, गत चुनावमा काठमाडौँ–५ बाट उम्मेदवार बनेका डा. प्रणयसम्शेर राणा, बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँ, बाराका संगठन प्रमुख पवन चौधरी र धनगढीका संस्थापक सभापति ईश्वरी बिस्टले पार्टीलाई टाटा बाइबाई गरिसकेका छन् ।
रास्वपा छोड्नेको पहिरो सुरु भएको छ । बर्दघाटका वडा सभापति जीतबहादुर हरिजन, नुवाकोटका अशोककुमार थापा, संस्थापक सदस्य उर्मिला आचार्य, सुस्ता गाउँपालिकाका उपसभापति गुप्तसेन ठकुरी, नुवाकोटकी नेतृ कमला रावल पाण्डे, केन्द्रीय वित्त विभागका दिनेश आचार्य, कलैया उपमहानगरका सभापति सञ्जीव यादव र देवताल गाउँपालिकाका सभापति कमरुद्धिन मियाँ लगायतका नेताहरूले पनि घण्टी छोडेर हिँडेका छन् ।
पार्टी परित्याग गर्दै मधेसकी संस्थापक सभापति ममता शर्माले त पार्टीको निर्णय प्रक्रिया आर्थिक अनियमितताबाट चल्ने गरेको आरोप लगाएकी छिन् । विधान र सार्वजनिक प्रतिबद्धता एउटा, तर व्यवहार ठिक उल्टो भएपछि आत्मसम्मानका लागि राजीनामा दिएको उनको दाबी छ । यस्तै, बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँले पनि रास्वपाभित्र चटकदार व्यक्तिहरूको रजगज बढेको र पसिना बगाउने कार्यकर्तालाई पाखा लगाइएको भन्दै आन्तरिक लोकतन्त्र समाप्त भएको दाबी गरेका छन् ।
नुवाकोटका अशोक थापाले अहिले रास्वपा विचार र सिद्धान्तबाट पुरै च्युत भइसकेको दाबी गरेका छन् । नेतृत्व नीतिबाट नभई आशीर्वादबाट छानिन थालेको उनको आरोप छ । यता नवलपरासीका जीतबहादुर हरिजनले अन्य दलबाट चुनावको मुखमा आएकाहरूलाई टिकट दिएपछि पार्टी परित्याग गरेको बताए । धनगढीका संस्थापक सभापति बिस्टले पनि पार्टी अहिले स्थापनाकालीन मूल्यभन्दा पुरै विपरीत दिशामा गइरहेको बताएका छन् ।
रास्वपा छाड्नेमा माथि उल्लेख गरिएकाहरूको सूची त ट्रेलर मात्रै थियो । पुरै फिल्म हेर्न केही समय पछाडि फर्कन पर्ने हुन्छ । यसअघि नै रास्वपाका संस्थापक महामन्त्री मुकुल ढकाल, पूर्वमन्त्री सुमना श्रेष्ठ र सांसद तथा रास्वपा प्रमुख सचेतक सन्तोष परियारले पनि पार्टी व्यक्ति केन्द्रित भएको र चरम आर्थिक चलखेल भएको भन्दै रास्वपा छाडेका थिए । यस्तै, प्रदीप बिस्ट, रमेश खरेल र अनिलकेशरी शाह जस्ता उच्च पदमा बसेका व्यक्तिहरूले पनि नेतृत्वमाथि प्रश्न उठाएर हिँडेका थिए ।
हुन त रास्वपा प्रवेश गर्नेको संख्या पनि कम छैन, तर वैकल्पिक शक्ति भनेर उदाएको पार्टीबाट यसरी पुराना र संस्थापक नेताहरू पलायन हुनुले नेतृत्वको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ । चुनावको मुखैमा केन्द्रदेखि तल्लो तहसम्मका नेताहरू धमाधम बाहिरिँदा अहिले रास्वपालाई धक्का लागेको छ ।
पार्टी छाड्ने नेताहरूको लर्को र उनीहरूले लगाएका गम्भीर आरोपहरूले एउटा कुरा भने घाम जत्तिकै छर्लङ्ग पारेको छ— रास्वपाले देशभर आफ्नो लहर छ भने पनि संगठन भित्रभित्रै कमजोर देखिन्छ । स्थापनाकालका आफ्नै नेताहरूलाई जोगाउन नसक्ने र अरू दलबाट आएकाहरूलाई काँध थाप्ने रास्वपाको प्रवृत्तिले नयाँ आशाको घण्टी बीचमै फुट्ने त होइन भन्ने चिन्ता आम मतदातामा देखिएको छ । साथै, एकपछि अर्का नेताहरूले पार्टी परित्याग गर्दै हिँडेपछि रास्वपाभित्रको खैलाबैला सतहमा आएको छ, भने नयाँ भनिएको दल बिस्तारै पनि पुरानै राजनीतिक रोगले थलिएको विश्लेषण भइरहेका छन् ।
Facebook Comments