राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साम्बाद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल
मेयरसाप डेस्क
|
२०८२ फागुन ११ गते १६:४९
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले घुँडाको गम्भीर चोटको उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी छन्। सामाजिक सञ्जालमार्फत एक भावुक सन्देश जारी गर्दै उनले आफ्नो खेल जीवनकै कठिन मोडमा पुगेको बताउँदै सहयोगका लागि याचना गरेकी हुन्।
पछिल्लो सात हप्तादेखि मैदानबाहिर रहेकी साम्बाको घुँडाको यसअघि गरिएको शल्यक्रियाको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर क्षति पुगेको भन्दै यसका लागि पुनः जटिल शल्यक्रिया र करिब ७–८ महिना रिह्याबका लागि अपुग हुने भएकाले आम समर्थकमाझ सहयोग माग्न परेको बताएकि छिन् ।
साम्बाले आफ्नो उपचारमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले सुरुमा वाचा गरे पनि पछि सहयोग गर्न नचाहेको आरोप लगाएकी छन्। उनका अनुसार, अघिल्लो साता एन्फा अध्यक्षले प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिँदै अधिकतम ५ लाख रुपैयाँ मात्र सहयोग गर्ने प्रस्ताव गरेका थिए। आफ्नो अभिभावक मानेको एन्फाले क्लबका लागि खेल्दा चोट लागेको भन्ने तर्क गरेर पछि हटेपछि आफु निराश भएको भन्दै एन्फाको ढिलासुस्तीका कारण शल्यक्रियाको मिति झण्डै दुई महिना पछि धकेलिएको उनले बताएकी छन्।
हाल न्युजिल्यान्डको क्लबमा आबद्ध साम्बाले स्थानीय अस्पतालको सट्टा कतारको अस्पेटार अस्पतालमा उपचार गराउने इच्छा व्यक्त गरेसँगै शल्यक्रिया र रिह्याबका लागि कुल ८० हजार अमेरिकी डलर खर्च हुनसक्ने अनुमान गरिएको छ।
सोहि कारण सरकारी स्तरबाट सहयोगको पहल भए पनि प्रक्रिया सुस्त हुँदा आफू समर्थकमाझ आउनुपरेको उनले बताएकी छन्।
Facebook Comments