प्रतिनिधिसभा निर्वाचन बहिष्कारको घोषणाः मधेशमा सुरक्षा चुनौती बढ्ने संकेत
मुकेशकुमार यादव
|
२०८२ फागुन ११ गते १७:३०
सिरहा । जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का अध्यक्ष जय कृष्ण गोइतले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन्। उनले नेपाली शासकले गराउन लागेको ‘तथाकथित प्रतिनिधिसभा निर्वाचन’ स्वीकार्य नभएको दाबी गर्दै बहिष्कार गरेका हुन्।
गोइतले आफ्नो समाजिक संजाल फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै उक्त सन्देश दिएका छन् । सार्वजनिक सन्देशमा भनेका छन्, ‘बहिष्कार अस्त्र हो, बहिष्कार शस्त्र हो। बिरालो सेतो होस् वा कालो, उसले मुसा मार्नु र खानु उसको काम, कर्तव्य र धर्म हो। हाम्रो प्यारो मातृभूमि फ्रील्यान्डका नेपाली प्रतिनिधिसभाका प्रत्याशी नेपाली होस् वा मधेसी, उसको काम, कर्तव्य र धर्म एउटै हो।’ उनको यो अभिव्यक्तिलाई राजनीतिक वृत्तमा निर्वाचन प्रक्रियाप्रति असन्तुष्टि र प्रत्यक्ष चुनौतीका रूपमा हेरिएको छ।
गोइतको बहिष्कार घोषणाले विशेषगरी मधेश प्रदेशमा निर्वाचनको वातावरण प्रभावित हुन सक्ने आकलन गरिएको छ। सिरहासहित तराई–मधेशका जिल्लामा सुरक्षा खतरा बढ्न सक्ने सुरक्षा स्रोतको अनुमान छ।
निर्वाचन वातावरण कस्तो बन्छ ?
प्रतिनिधिसभा निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको महत्त्वपूर्ण चरणका रूपमा हेरिँदै आएको छ। तर, जनतान्त्रिक तराई मुक्ति मोर्चाबाट हुने बहिष्कार आह्वानले मतदाता सहभागिता र सुरक्षामा प्रत्यक्ष असर पार्न सक्छ। विशेष गरी सिरहा, सप्तरी, धनुषा, महोत्तरी लगायतका जिल्लामा सुरक्षा संयन्त्रलाई थप सजग रहनुपर्ने देखिएको छ।
जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)को निर्वाचन बहिष्कार घोषणाले मधेश प्रदेशमा निर्वाचनको माहोल चुनौतीपूर्ण बन्न सक्ने संकेत गरेको छ।
Facebook Comments