वीरगन्जमा कर्फ्यु हट्यो, साँझ ६ बजेदेखि निषेधाज्ञा लागू
मेयरसाप डटकम
|
२०८२ फागुन ११ गते १८:५६
वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा लगाइएको कर्फ्यु हटाएको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार सोमबार अपराह्न साढे ४ बजेदेखि कर्फ्यु आदेश हटाइएको हो। यद्यपि, सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै निषेधाज्ञा भने जारी रहनेछ।
प्रशासनले सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा लागू रहने जनाएको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले स्पष्ट पारेको छ।
विज्ञप्तिअनुसार निषेधाज्ञा वीरगन्जको पूर्वमा बाइपास रोड, पश्चिममा रानीघाट, उत्तरमा पावरहाउस चोक र दक्षिणमा घण्टाघर चोकसम्म लागू हुनेछ।
यसअघि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सोमबार बिहान ९:४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु जारी गरिएको थियो। दुई समुदायबीच सम्भावित द्वन्द्वको अवस्था सिर्जना भएपछि प्रशासनले कर्फ्यु लगाएको थियो।
सोही विषयमा आज बसेको सर्वपक्षीय बैठकले तीन बुँदे सहमति गरेको जनाइएको छ। बैठकमा जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ, प्रहरी उपरीक्षक नरेशराज सुबेदी, सशस्त्र प्रहरी उपरीक्षक मोहन क्षेत्री, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, विभिन्न राजनीतिक दलका प्रतिनिधि, हिन्दु तथा मुस्लिम समुदायका अगुवा र सद्भाव समितिका सदस्यहरूको सहभागिता रहेको थियो।
Facebook Comments