निर्वाचनको दिन आन्तरिक उडान बन्द, पर्यटकका लागि सटल बस व्यवस्था
मेयरसाप डेस्क
|
२०८२ फागुन ११ गते १९:०५
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि २१ फागुनमा मतदान तय भएसँगै सो दिन आन्तरिक हवाई उडान सेवा बन्द हुने भएको छ।
नेपाल पर्यटन बोर्डले ट्राभल एडभाइजरी जारी गर्दै निर्वाचनको दिन आन्तरिक उडान नहुने जानकारी दिएको हो। यद्यपि, अन्तर्राष्ट्रिय उडान भने नियमित तालिकाअनुसार सञ्चालन हुने जनाइएको छ।
बोर्डका अनुसार निर्वाचन अवधिमा पनि नेपाल पर्यटकका लागि खुला र सुरक्षित रहनेछ। यसका लागि सम्बन्धित सरोकारवाला निकायसँग आवश्यक समन्वय भइरहेको बोर्डले स्पष्ट पारेको छ।
निर्वाचनका दिन पर्यटकको आवागमनमा असहजता नहोस् भन्ने उद्देश्यले विमानस्थल–होटल र होटल–विमानस्थल सटल बस सेवा सञ्चालन गर्न इच्छुक कम्पनीहरूका लागि जिल्ला प्रशासन कार्यालयबाट सवारी पास उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। यसका लागि बोर्डले आवश्यक सिफारिसपत्र दिन सम्पर्क व्यक्ति समेत तोकेको छ।
त्यसैगरी, निर्वाचन प्रक्रियालाई सुरक्षित बनाउन सीमानाका भने मतदान हुनुभन्दा ७२ घण्टा अगावै बन्द गरिने सूचनामा उल्लेख छ। यद्यपि, देशभरका होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा प्रमुख ऐतिहासिक स्थलहरू भने नियमित रूपमा सञ्चालनमा रहने बोर्डले जनाएको छ।
Facebook Comments