निर्वाचन सुरक्षाका लागि नेपाली सेनाको 'थ्री-लेयर' रणनीति
तेस्रो घेराको सुरक्षा र एकीकृत टोली
मेयरसाप डेस्क
|
२०८२ फागुन १३ गते १७:४५
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन नेपाली सेनाले तीन चरणको विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ ।
मन्त्रिपरिषद्को निर्णय र राष्ट्रपतिको स्वीकृतिपछि चुनावी मैदानमा होमिएको सेनाले निर्वाचन पूर्व, मतदानको समय र निर्वाचनपश्चात्को सुरक्षाका लागि भरपर्दो प्रबन्ध मिलाएको हो ।
सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार सेनाले मतपत्र छपाइको सुरक्षा सफलतापूर्वक सम्पन्न गरिसकेको छ । हालसम्म ७५ जिल्लामा निर्वाचन सामग्री पुगिसकेको र भोलिसम्म सबै जिल्लामा मतपत्र पुग्ने गरी ढुवानी भइरहेको छ । भौगोलिक विकटताका कारण ५ जिल्लामा हवाई मार्ग र अन्यमा स्थल मार्गबाट सेनाकै सुरक्षामा सामग्री ढुवानी गरिएको हो ।
निर्वाचनको समयमा सेनाले सुरक्षाको तेस्रो घेरा (आउटर कर्डन) सम्हाल्नेछ । मतदान सकिएपछि मतपेटिकालाई सुरक्षित रूपमा मतगणना स्थलसम्म पुर्याउन र गणना स्थलको बाहिरी सुरक्षा दिन सेना अग्रपङ्क्तिमा रहनेछ ।
एकीकृत सुरक्षा योजनाअनुसार सेनाले हवाई गस्ती र शङ्कास्पद वस्तु (बम÷विस्फोटक) निष्क्रिय पार्ने ’डिस्पोजल टोली’ समेत तयारी अवस्थामा राखेको छ ।
निर्वाचनका बेला अन्य सुरक्षा निकाय मतदान केन्द्रमा केन्द्रित हुने भएकाले सेनाले कारागार, विमानस्थल र सरकारी कार्यालयसहित मुलुकभरका ११६ वटा महत्वपूर्ण संरचनाको सुरक्षाको पूर्ण जिम्मेवारी लिएको छ । हिमाली भेगमा हिउँ पन्छाएर बाटो खुलाउनेदेखि स्थानीय प्रशासनसँग समन्वय गरी नियमित गस्ती गर्ने कार्य भइरहेको सेनाले जनाएको छ ।
निर्वाचन सुरक्षाको तयारीबारे प्रधानसेनापति अशोकराज सिग्देलले विभिन्न कमान्ड सेन्टर र फिल्डमा पुगेर प्रत्यक्ष निरीक्षण गरिरहेका छन् । प्रवक्ता बस्नेतका अनुसार सेनाले मानवअधिकार र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै शान्तिपूर्ण निर्वाचन गराउन कुनै कसर बाँकी राख्ने छैन ।
विश्व शान्ति स्थापनामा अन्तर्राष्ट्रिय छवि बनाएको नेपाली सेनाको अनुभवले यसपटकको प्रतिनिधिसभा निर्वाचन पनि सुरक्षित र मर्यादित वातावरणमा सम्पन्न हुने विश्वास गरिएको छ ।
Facebook Comments