मृतकको नाममा मतदान गर्ने प्रयास रोक्न आयोगको कडा निगरानी
फोटोसहितको नामावली र सुरक्षामा कडाइ
मेयरसाप डेस्क
|
२०८२ फागुन १३ गते १८:०१
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा रहेका मृतक व्यक्तिको नाम दुरुपयोग हुन सक्ने जनचासोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगको कल सेन्टर (११०२) मा आएका जिज्ञासाहरूको जवाफ दिँदै आयोगले मृतकको नाममा हुन सक्ने फर्जी मतदान रोक्न पूर्ण रूपमा सचेत रहेको स्पष्ट पारेको हो ।
हरेक मतदान केन्द्रमा फोटोसहितको रंगिन नामावली पठाइएको छ । कर्मचारीले मतदान गर्न आउने व्यक्तिको अनुहार, सक्कल प्रमाणपत्र र नामावलीको फोटो भिडाएर मात्र मतपत्र दिनेछन् ।
सूचना प्राप्त भएका मृतकको नाम हटाइसकिएको र तोकिएको मितिभन्दा पछि मृत्यु भएकाहरूको हकमा मतदान केन्द्रमै कडा जाँच गरिनेछ ।
मतदान केन्द्रमा खटिएका कर्मचारी, सुरक्षाकर्मी र राजनीतिक दलका प्रतिनिधिहरूले शङ्कास्पद व्यक्ति र अवाञ्छित गतिविधिको निगरानी गर्नेछन् ।
आयोगले फोटोसहितको प्रणाली र मतदान प्रतिनिधिको उपस्थितिका कारण मृतकको नाममा मतदान हुने सम्भावना नरहेको भन्दै ढुक्क हुन आग्रह गरेको छ ।
Facebook Comments