सिरहामा आचारसंहिताको धज्जी, बजार र चोकमा दलका झण्डाको ओइरो
प्रशासन भन्छ– 'प्रहरी लगाएर हटाउँछौँ'
मेयरसाप डेस्क
|
२०८२ फागुन १४ गते ११:०३
सिरहा । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि जारी आचारसंहिताको सिरहामा व्यापक उल्लंघन भएको छ ।
निर्वाचन आयोगले तडक–भडक, बाजागाजा र सार्वजनिक स्थलमा प्रचार सामग्री राख्न निषेध गरे पनि सिरहाका मुख्य चोक र सडकहरू दलका झण्डा र ब्यानरले भरिएका छन् ।
विशेषगरी गोलबजार, चोहर्वा, नयाँ चोक र नरहा–विष्णुपुर क्षेत्रका सार्वजनिक स्थानमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले खुला रूपमा प्रचार सामग्री झुण्ड्याएका छन् ।
स्थानीय रामउदगार साहले आयोगको निर्देशनविपरीत भइरहेका यस्ता क्रियाकलापले मतदाता प्रभावित हुन सक्ने भन्दै चिन्ता व्यक्त गरे । ‘सम्बन्धित निकाय मौन बस्दा उम्मेदवारहरूको मनोबल बढेको छ, तत्काल अनुगमन हुनुपर्छ,’ उनल भने ।
यता, सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आचारसंहिता पालना गराउन कडाइ गरिने बताएका छन् ।
दलहरू आफैँ जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै उनले भने, ‘पत्राचार गर्दा पनि नमाने प्रहरी परिचालन गरेर सार्वजनिक स्थलका झण्डा हटाइनेछ र बाजागाजासहितको प्रचारमा रोक लगाइनेछ ।’
Facebook Comments