एमालेको किल्लामा रास्वपाको हमला, ओलीसहित ९ जना धरापमा
क–कसको सकिँदैछ राजनीतिक करियर?
जनेश ठकुल्ला
|
२०८२ फागुन १७ गते १३:५०
नेकपा एमाले– जसलाई सबैभन्दा बलियो संगठन भएको पार्टी मानिन्छ । तर, एमालेका ‘बा’ देखि काका र भतिजसम्मका हेभीवेट नेताहरूलाई यसपटकको निर्वाचन निल्नु न ओकल्नु भएको छ । पार्टीभित्र आफूलाई अजेय र अमर ठान्ने प्रभावशाली नेताहरू अहिले आफ्नै निर्वाचन क्षेत्रमा रेड जोनमा देखिएका छन् ।
गत भदौको जेन–जी आन्दोलनपछि नेपाली राजनीतिमा जुन उथलपुथल भयो, त्यसले एमालेका पुराना र स्थापित अनुहारहरूलाई सबैभन्दा बढी तारो बनाएको छ । एमालेले यसपटक आफ्ना प्रभावशाली नेताहरूलाई जिताउन ठुलै बल प्रयोग गरेको छ, तर पछिल्लो समय देखिएको नयाँ लहर र पार्टीभित्रको तीतोपनले यसपटकको चुनावमा एमालेका शक्तिशाली नेताहरूको निद हराम गरिदिएको छ ।
केपी ओली, झापा–५
यसपटक एमालेका भीष्म पितामह तथा ‘बा’ आफैँ जोखिममा देखिन्छन् । अहिले एमालेभित्र सबैभन्दा ठुलो संकट नै अध्यक्ष केपी ओलीलाई देखिएको छ । झापालाई आफ्नो लालकिल्ला मान्ने र पेवा ठान्ने ओलीसँग भिड्न यसपटक रास्वपाका वरिष्ठ नेता बालेन शाह झापा पुगेका छन् ।
जेन–जी आन्दोलनमा नरसंहार मच्चाएको र आन्दोलनकारीमाथि गोली चलाउन आदेश दिएको आरोप उनीमाथि छ । त्यही जेन–जी आन्दोलनले ओलीलाई सत्ताच्युत गरेको थियो, जुन अहिले उनको लागि गलपासो बनेको छ । देशभर रास्वपाको लहर चलेका बेला बालेनले ओलीलाई पराजित गर्ने विश्लेषण भइरहेको छ । त्यसमाथि बालेन फ्याक्टर र गठबन्धनको अभावले गर्दा यसपटक झापामा ओली धरापमा देखिन्छन् ।
शंकर पोखरेल, दाङ–२,
एमालेका महासचिव शंकर पोखरेल पार्टीमा जति शक्तिशाली भए पनि दाङ–२ मा भने सधैँ ‘रिस्क’मा हुन्छन् । गत निर्वाचनमा माओवादीसँग पछारिएका शंकरलाई यसपटक झन् ठुलो संकट आइलागेको छ । रास्वपाका सह–महामन्त्री विपिनकुमार आचार्य दाङ पुग्नुले शंकरलाई झनै कठिन बनाएको छ । काठमाडौंमा बसेर दाङको राजनीति गर्ने अनि कार्यकर्तासँग दूरी बढाउने उनको बानीले यसपटक उनलाई संकटमा पारेको छ । जेन–जी आन्दोलनपछि मतदातामा फेरिएको मनोविज्ञानले गर्दा शंकरलाई यसपटक दाङ–२ मा जित्न धौ–धौ पर्ने देखिन्छ ।
विष्णु पौडेल, रुपन्देही–२
शक्तिशाली र प्रभावशाली नेता मानिने एमाले उपाध्यक्ष विष्णु पौडेल पनि यसपटक डेन्जर जोनमा छन् । गत निर्वाचनमा राप्रपाको वैशाखी टेकेर पनि मुस्किलले जितेका पौडेल यसपटक धर्म संकटमा रहेको विश्लेषण भइरहेको छ । राप्रपाले आफ्नै उम्मेदवार उठाउनु र घण्टीको उभार आउनुले पौडेल जोखिममा परेका हुन् ।गत निर्वाचनमा आएको कमजोर समानुपातिक मत र बदलिएको जनलहरले उनलाई संसद् छिर्न ठुलै पापड पेल्नुपर्ने देखिन्छ ।
पृथ्वीसुब्बा गुरुङ, लमजुङ
लमजुङबाट उम्मेदवार बनेका एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङलाई यसपटक सञ्चारमन्त्री हुँदाको इगो भारी पर्ने भएको छ । सामाजिक सञ्जाल नियमन गर्ने नाममा प्रतिबन्ध लगाउने तत्कालीन सरकारको निर्णयले युवा पुस्तालाई आगो बनाइदिएको थियो । एकातिर उनी सञ्चारमन्त्री हुँदा गरेको निर्णयले जनआक्रोश रोकिएको छैन, भने अर्कोतिर जेन–जी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री ओलीकै पक्षमा उभिएको आरोप छ । उनको विवादित छवि र देशभर नयाँ पार्टीप्रति बढ्दो क्रेजले यसपटक उनलाई पनि संसद्सम्म जान कठिन हुने देखिएको छ ।
देवराज घिमिरे, झापा–२
झापा–२ मा एमाले नेता तथा पूर्व सभामुख देवराज घिमिरेलाई यसपटक रास्वपाकी इन्दिरा रानामगरले कडा टक्कर दिएकी छिन् । आफ्नै कार्यकालकी उपसभामुख रानामगर उनको लागि सबैभन्दा ठुलो चुनौती बनेकी छिन् । सहरी क्षेत्रमा युवा मतदाताहरूको मन बदलिएको छ, भने टिकट बाँड्दा पार्टीभित्र असन्तुष्ट भएको समूहले उनलाई आफ्नै भोट जोगाउन मुस्किल पर्ने देखिन्छ ।
महेश बस्नेत, भक्तपुर–२
एमालेका ब्रान्ड भनेर चिनिने सचिव महेश बस्नेतलाई यसपटक भक्तपुरमा ठुलो संकट आइलागेको छ । तीन पटक चुनाव लड्दा एक पटक मात्र जितेका बस्नेतलाई यसपालि झनै गाह्रो छ । जेन–जी आन्दोलन र ओलीको बचाउमा सबैभन्दा बढी उफ्रिने पात्र भएकाले आक्रोशित युवाले उनलाई नै मुख्य निशाना बनाएका छन् । गत निर्वाचनमा हारको पिर खेपेका बस्नेतको, यो पटक पनि खड्गो नटरेको विश्लेषण भइरहेको छ ।
ईश्वर पोखरेल, काठमाडौं–५
काठमाडौं–५ मा ईश्वर पोखरेललाई आफ्नो लालकिल्ला जोगाउन र आफ्नै कार्यकर्ताको विश्वास जित्न धौ–धौ परेको छ । अध्यक्ष ओली र पोखरेलबीचको आन्तरिक कलहले कार्यकर्ताहरू कित्ताकाट भएका छन् । गत निर्वाचनमा पराजित भएका उम्मेदवारसँग फेरि प्रतिस्पर्धा गर्दा र नयाँ शक्तिको लहरले यसपटक पनि पोखरेल रेड जोनमा देखिन्छन् ।
प्रदीप ज्ञवाली, गुल्मी–१
एमालेका प्रभावशाली तथा बेदागी नेता मानिने प्रदीप ज्ञवालीलाई गुल्मी–१ मा यसपटक संकट परेको छ । गत निर्वाचनमा कांग्रेसका चन्द्र भण्डारीसँग पछारिएका ज्ञवालीलाई रास्वपाका सागर ढकालको इन्ट्रीले निद हराम गरिदिएको छ । अघिल्लो हारको बदला लिने सपना बोकेका ज्ञवाली यसपटक पनि पछारिने लाइनमै देखिएका छन् ।
राजन भट्टराई, काठमाडौं–४
काठमाडौं–४ मा एमालेका हस्ती नेता राजन भट्टराईलाई त झनै दशा लागेको छ । गगन थापा सर्लाही गएपछि सजिलो हुन्छ भन्ठानेका उनलाई रास्वपाका पुकार बम र कांग्रेसका सचिन तिमिल्सेनाले हैरानी पारेका छन् । अघिल्ला दुई निर्वाचनमा हारिसकेका उनलाई यसपटक युवा उम्मेदवारसँग भिडेर जित निकाल्न कठिन देखिएको छ ।
यति मात्र होइन, एमालेका अरू प्रभावशाली नेताहरू शेरधन राई, लेखराज भट्ट, भगवती न्यौपाने, क्षितिज थेबे, रघुवीर महासेठ, दामोदर भण्डारी र ठाकुर प्रसाद गैरे पनि यसपटक संकटमा देखिन्छन् । झापा–५ मा ओलीलाई बालेनले चुनौती दिनु र अन्य प्रभावशाली नेताहरूलाई पनि युवा मतदाताले स्तब्ध पार्ने प्रबल सम्भावना देखिएको छ ।
Facebook Comments