मध्यपूर्वको युद्धबारे मन्त्रिपरिषद् बैठकमा छलफल, नेपाली नागरिकको सुरक्षामा सरकारको ध्यान
मेयरसाप डेस्क
|
२०८२ फागुन १७ गते १९:२९
काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकमा मध्यपूर्वमा जारी युद्धको अवस्थाबारे विस्तृत छलफल भएको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री बालानन्द शर्माले युद्धका कारण नेपाल र नेपाली नागरिकहरूमा परेको प्रभाव तथा सरकारले चाल्नुपर्ने कदमबारे विभिन्न निर्णय भएको जानकारी दिए ।
मन्त्री शर्माका अनुसार बैठकमा विशेषगरी वैदेशिक रोजगारीका लागि मध्यपूर्व जाने नेपाली कामदारहरूको अवस्थाबारे छलफल गरिएको थियो । उनले नेपालबाट बाहिरिने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका समस्याहरू समाधान भइसकेको बताए । श्रम, पर्यटन तथा परराष्ट्र मन्त्रालयबीच समन्वय गरी समस्या समाधान गरिएको र आवश्यक ट्राभल एड्भाइजरीसमेत प्रकाशन भइसकेको उनको भनाइ छ ।
उनले भने, ‘नेपालबाट बाहिर जाने विदेशी कामदारहरूलाई सर्वप्रथम नेपालकै अन्तर्राष्ट्रिय विमानस्थलमा परेका समस्याहरू समाधान भइसकेका छन् । श्रम मन्त्रालय, पर्यटन मन्त्रालय र परराष्ट्र मन्त्रालय तीनवटा मन्त्रालयले सहकार्य गरेर यहाँको समस्या समाधान भइसकेको छ र ट्राभल एड्भाइजरीहरू प्रकाशन भइसकेका छन् । त्यसपछिको दोस्रो समस्या भनेको सम्बन्धित मुलुकमा पुगेर ट्रान्जिटमा परेका नेपाली कामदारहरू र प्यासेन्जरहरूलाई भएको असुविधा बारे पनि छलफलहरू भयो।’
त्यस्तै, सम्बन्धित मुलुकमा पुगेर ट्रान्जिटमा अलपत्र परेका नेपाली कामदार तथा यात्रुहरूको अवस्थाबारे पनि बैठकमा चर्चा भएको मन्त्री शर्माले बताए । उनका अनुसार विभिन्न देशस्थित नेपाली दूतावासहरूलाई समन्वय गरी सम्बन्धित व्यक्तिहरूसँग सम्पर्कमा रहने, गन्तव्यसम्म पुर्याउने वा जान नसक्नेहरूलाई होटलमा सुरक्षित बसोबासको व्यवस्था मिलाउने निर्णय गरिएको छ । सम्बन्धित रोजगारदाता कम्पनी तथा विमान कम्पनीहरूसँग पनि आवश्यक समन्वय गरिएको उनले जानकारी दिए ।
सरकारले विदेशमा रहेका नेपालीहरूको स्वास्थ्य र सुरक्षाको अवस्थाबारे नियमित जानकारी लिइरहेको जनाउँदै मन्त्री शर्माले हालसम्म कुनै पनि नेपाली हताहत नभएको र सुरक्षाका लागि उचित प्रबन्ध मिलाइएको दूतावासहरूबाट जानकारी प्राप्त भएको बताए ।
उनले भने, ‘अहिलेसम्म कुनै पनि समस्या र हताहत नभएको र यसको सुरक्षाको निमित्त उचित प्रबन्ध मिलाइसकेको जानकारी हरेक दूतावासले दिइरहेका छन् । अहिलेलाई यो सबै विमानस्थल बन्द भएको हुनाले कसैलाई फर्काउन पनि सकिँदैन, अगाडि लान पनि सकिँदैन । अहिले जहाँ छ त्यहीँ नै सुरक्षित भएर राख्ने मात्र प्रबन्ध भएको छ ।’
हाल प्रभावित क्षेत्रका विमानस्थलहरू बन्द रहेकाले यात्रुहरूलाई तत्काल फिर्ता ल्याउन वा गन्तव्यतर्फ पठाउन नसकिने अवस्था रहेको उनले स्पष्ट पारे ।
Facebook Comments