ओली–बालेन घमासन : गगनको प्रमाणले रन्थनिए रवि, विश्वप्रकाशको इन्ट्री
फेरि डिबेट आतकं, प्रधानमन्त्रीको पासा पलट
अम्बिका खड्का
|
२०८२ फागुन १८ गते ११:४५
आफूलाई शेर सम्झिने बालेन साह, अर्का सवाशेर केपी ओलीसँग चुनावी जुहारी खेल्न झापा झरे । तर मोही माग्ने, ढुङ्ग्रो लुकाउने भने झैँ भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा भोट माग्दै गर्दा जनताको प्रश्नसँग भने बालेन, तर्किरहेका छन् ।
हुन त, काठमाडौंको मेयर भएपछि काठमाडौंबासीले बालेनको छाया पनि देख्न पाएका थिएनन् ।अहिले किस्ता किस्तामा मतदातासँग बोल्न र हाँस्नसम्म थालेका बालेन प्रश्नको सामना गर्न भने अझै तयार भएका छैनन् ।
भावी प्रधानमन्त्रीका रूपमा खुलेरै कांग्रेसका सभापति गगन थापा, एमालेका अध्यक्ष ओली र रास्वपाका बालेन चुनावी मैदानमा छन् । अझ रोचक कुरा त, तीन मध्ये दुई प्रधानमन्त्रीका दाबेदार उम्मेदवार बालेन र ओली एकै निर्वाचन क्षेत्रमा छन् । एकअर्कालाई कट्टर दुस्मन सम्झने ओली र बालेनबीच पानी बाराबारको अवस्था छ । बालेन जेनजी आन्दोलनमा बालबालिकाको हत्या गरेको आरोप ओलीलाई लगाउँछन् भने ओली बालेन र रास्वपालाई देश जलाउनेको संज्ञा दिन्छन् ।
जेनजी आन्दोलनबाट सिर्जित विषम परिस्थितिमा हुँदै गरेको यो निर्वाचनमा दलका योजना, विचार र एजेण्डाका विषयमा आम नागरिक समेत अन्योल छन् । त्यसैले पनि प्रधानमन्त्रीका उम्मेदवारलाई एकै मञ्चमा राखेर ‘निर्वाचन डिबेट’ हुनुपर्ने माग भइरहेको छ ।
डिबेटका लागि ओली र गगन तयार छन् । ओलीले बहसका विषयमा कुरा उठ्नासाथ आफू तयार भएको भन्दै सामाजिक सञ्जालमार्फत बहसको आयोजना गर्न आग्रह समेत गरे । तर उनकै पोष्टमा कमेन्ट गर्दै बालेनले बहसलाई अस्वीकार गरे । ७६ जनाको हत्यारा र त्यसको मतियारसँग एउटै मञ्चमा नउभिने भन्दै बालेन पन्छिए । झापा–५ का उम्मेदवारबीच भएको बहसमा पनि ओली लगायत सबै उम्मेदवार सहभागी हुँदा बालेन मात्र उपस्थित भएनन् ।
यता गगन थापा, प्रधानमन्त्रीको दाबेदारबीच उनीहरूका एजेण्डा, देश निर्माणको रोडम्याप र योजनामा छलफल गर्न र आमरुपमा उठेका प्रश्नहरूको जवाफ दिनका लागि भए पनि एउटै मञ्चमा छलफल आवश्यक रहेको बताइरहेका छन् । गगनले राष्ट्रिय सभा गृहमा उभिएरै एक चरणको सवाल जवाफ गरिसकेका छन् ।
कांग्रेसका उपसभापति तथा निर्वाचन परिचालन समितिका संयोजक समेत रहेका विश्वप्रकाश शर्माले पनि डिबेटका लागि बारम्बार आग्रह गरिरहेका छन् ।
प्रधानमन्त्रीका दाबेदारबीच सार्वजनिक बहस अन्तर्राष्ट्रिय अभ्यासमै छ । यस्ता बहसमा उम्मेदवारले आफ्ना विचार, एजेण्डा, रोडम्याप प्रष्ट राख्ने अवसर पाउँछन् भने आफूमाथि लाग्ने आरोप र उठ्ने प्रश्नहरूको स्पष्टीकरण दिने मौका पनि हो निर्वाचन केन्द्रित डिबेट । बालेनका लागि यो डिबेट ठुलो अवसर थियो । ठुला–ठुला सपना देखाएर मेयर जितेको र जितेपछि काम गर्न नसकेको, आरोप उनीमाथि लाग्ने गरेको छ । नेपथ्यमा बसेर जेनजी आन्दोलन उक्साउन भूमिका खेलेको आरोप बालेनमाथि छ ।
बालेनले डिबेटमा आफूलाई चोख्याउने मौका पाउँथे । लुकी लुकी सामाजिक संंजालमा प्रश्न गर्ने बालेनले अन्य दललाई खुलेरै प्रश्न गर्न पाउँथे । तर, डिबेटमा भाग लिन नचाहेका बालेन अहिले प्रश्नसँग डराएको अर्थमा हेरिएको छ । कम बोल्ने धेरै गर्ने भनेर उनका समर्थकले त मान्दिएका छन्, तर नागरिकप्रति जबाफदेही त बालेन पनि हुनुपर्ने कोणबाट समेत विश्लेषण भइरहेको छ ।
छलफल, बहस र प्रश्नबाट भागेको भन्ने आरोप बालेनमाथि लाग्न थालेपछि रास्वपाका सभापति रवि लामिछाने भने बालेनको बचाउ गर्दै हिँडिरहेका छन् । उनले कर्णालीमा आयोजित वाचापत्र सार्वजनिक कार्यक्रममा सार्वजनिक बहसलाई ठाडै इन्कार गर्दै प्रश्नको ठेक्का कसैले लिनु नपर्ने बताए ।
बालेनले डिबेटलाई ठाडै अस्वीकार गर्दै हिँडिरहँदा पनि नेपाली कांग्रेस भने डिबेटका लागि अझै पनि आह्वान गरिरहेको छ । जेनजी आन्दोलनको घटनाको दाग लागेको कांग्रेसले आफूलाई चोख्याउनका लागि बारम्बार जनतासामु जान र बहस गर्न चाहिरहेको बुझिएको छ । शुक्रबार पनि कांग्रेसका उपसभापति शर्माले फागुन १८ गते होलीका दिन काठमाडौंको खुलामञ्चमा प्रधानमन्त्रीका उम्मेदवार सँगै बसेर होली मनाउँदै बहस गर्नका लागि आह्वान गरेका छन् ।
देश निर्वाचनको संघारमा पुगिसकेको अवस्थामा राजनीतिक दलहरुबीचको घोचपेच अझ पेचिलो बन्दै गएको छ । गगन थापा र रवि लामिछानेबीचको सवाल जवाफ त अझै मत्थर भएको छैन । गगनले केही दिन अघि लामिछानेको सहकारी ठगीका प्रमाणहरूको चाङ नै सार्वजनिक गरेर रविको छवि, छरपस्ट छरपस्ट पारिदिए । त्यो रिस, शुक्रबार रविले चितवनमा पुगेर पोखे ।
तर संयोग पनि कस्तो, शुक्रबार नै पोखरामा कांग्रेसको सभा चलिरहँदा सूर्यदर्शन सहकारीका पीडितहरूले गगन थापालाई बचत र्फिताका लागि माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । यसले रवि भन्दा गगनप्रति जनमानसमा भरोसा बढेको संकेत गरेको छ ।
Facebook Comments