Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

रोकिएन रास्वपा छाड्नेको लर्को : रवि–बालेन संकटमा, गगनको दाउ

कार्यकर्ता हायलकायल, एमाले हेरेको हर्‍यै

User Image जनेश ठकुल्ला | २०८२ फागुन १८ गते १२:५८
Image of https://mayorsap.com/storage/photos/shares/aaa-1.jpg

नेपाली राजनीतिमा अहिले रवि लामिछाने र बालेन शाहको छुट्टै लहर र उभार देखिएको छ । जता हेर्‍यो त्यतै चर्चा, मान्छेहरू पनि पुराना नेताभन्दा रवि–बालेनतिर बढी आकर्षित भइरहेका छन् । तर, यही लहर र उभारका बीच राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा भने अहिले पार्टी छाड्नेहरूको लर्को रोकिएको छैन । बरु, यो क्रम झन्–झन् भयावह रूपमा बढ्दै गएको देखिन्छ । हिजोसम्म ‘हामी देश बदल्छौँ’ भन्दै घण्टी बजाउनेहरू आज पार्टीभित्रको बेथिति  खेप्न नसकेर बाहिरिँदै गएका छन् । जान्नेलाई छान्ने र  थितिको कुरा गर्ने रास्वपाभित्रै बेतिथि मौलाएपछि अहिले आफ्नै घर जोगाउन धौ–धौ परेको छ ।

रास्वपालाई सबैभन्दा ठुलो झट्का त काठमाडौं क्षेत्र नम्बर ५ मा लागेको छ । जहाँ पार्टीको जग बसाल्ने संस्थापक क्षेत्रीय संयोजक मधुसुधनध्वज खड्कासहित १४ जनाले एकैसाथ राजीनामा बुझाएका छन् । राजीनामा दिनेहरूमा राम श्रेष्ठ, जया श्रेष्ठ, समीप घले र कवि थापामगर जस्ता पुराना र खम्बा मानिने कार्यकर्ताहरू छन् । यति मात्र होइन, वडा तहका पदाधिकारीहरू प्रतिभा सेढाई, किरण थापा, चिरञ्जीवी अधिकारी, सुजना बस्नेत, शोभा सुवेदी, प्रभात महर्जन, राजेश थापा, माधव थापामगर र अञ्जना बोगटीले पनि पार्टीलाई नमस्ते गरेर आफ्नो बाटो लागेका छन् ।

यी नेताहरूले पार्टी परित्याग गर्दै प्रतिनिधि सभाको उम्मेदवार छान्ने बेलामा पार्टीभित्र ठुलो आर्थिक चलखेल र अनियमितता भएको दाबी गरेका छन् । हिजोसम्म भ्रष्टाचार विरुद्ध र सुशासनको पक्षमा चर्को भाषण गर्ने रास्वपाका माथिल्लो तहका नेताहरूमाथि नै अहिले मोलाहिजा गरेर डाक बढाबढमा टिकट बेचेको आरोप लाग्ने गरेको  छ।  

रविको नेतृत्व र बालेनको लोकप्रियताले गर्दा मान्छेहरू रास्वपाप्रति आशावादी भइरहेका बेला आफ्नै संस्थापक नेताहरूले पार्टीले देश बनाउने र लोकतन्त्र जोगाउने सपनामा घात गरेको भन्दै धमाधम छोडेपछि यसपटक रास्वपालाई काठमाडौंमा निकै सकस हुने देखिन्छ ।

रास्वपा छाड्ने यो लस्कर काठमाडौंमा मात्र सीमित छैन, उडेर कर्णाली र सुर्खेतसम्मै पुगेको छ । रास्वपाकी कर्णाली प्रदेश महामन्त्री चन्द्रा विक र सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेतले पनि पार्टीलाई बिदाइ गरेका छन् । अचम्मको कुरा त के छ भने, घण्टी छोड्ने बित्तिकै उनीहरू सिधै नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सुर्खेतमा आइतबार बिहान एउटा कार्यक्रम नै गरेर उनीहरूलाई माला र अबिर लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

रास्वपा छाडेर भाग्ने नेताहरूको क्रम अहिले सुरु भएको होइन । यसअघि पनि मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्मा र बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँलगायत नेताहरूले पनि रास्वपाको घण्टी बजाउन छोडेर कांग्रेसतिरै ओत लागिसकेका छन् । संगठन बनाउने बेलामा दिनरात लागिपरेका पुराना नेताहरूलाई पाखा लगाएर पैसा र पहुँच हुनेलाई काख थाप्न थालेपछि कार्यकर्ताहरू पनि असन्तुष्ट देखिएका छन् ।

जुन पार्टीले सुशासन र नयाँ राजनीतिको कुरा गरेर जनताको मन जितेको थियो, अहिले त्यही पार्टीभित्र आफ्नै नेताहरूले पैसाको लेनदेन र अनियमितताको कुरा उठाउनुले रास्वपामाथि गम्भीर प्रश्न खडा गरेको छ । रवि र बालेनको उभारले गर्दा सिर्जना भएको अनुकूल वातावरणलाई पार्टीको आन्तरिक किचलो र आर्थिक चलखेलको आरोपले ‘भदौको भेल’ जस्तै धमिलो बनाइदिएको छ ।

चुनाव मुखैमा आइपुग्दा यसरी धमाधम प्रभावशाली र पदमा बसेका नेताहरूले पार्टी छोड्नु भनेको रास्वपाका लागि पहिलो गाँसमै ढुङ्गा लागेजस्तै हो । मधेसहुँदै काठमाडौंदेखि कर्णालीसम्मका नेताहरूले धमाधम राजीनामा दिएर पार्टी छाड्न थालेपछि रास्वपालाई यसपालिको चुनावमा ठुलै संकट पर्ने देखिएको छ । 

यद्यपि, देशभर देखिएको रवि र बालेनको लहर अनि नयाँ शक्तिको उभारले गर्दा यत्तिका नेताहरूले पार्टी छाड्दैमा चुनावमा खासै ठुलो असर नपर्ने विश्लेषण पनि भइरहेका छन् । अहिलेका मतदाताहरू व्यक्तिभन्दा पनि परिवर्तन र नयाँ एजेण्डाको पक्षमा रहेकाले नेताहरूको यो भाग–दौडले रास्वपाको जनमतमा खासै धक्का नलाग्न सक्ने अनुमान गर्नेहरू पनि उत्तिकै छन् ।


Facebook Comments