झापामा तीन अस्थायी मतदान केन्द्र, छ हजार बढी अस्थायी मतदाता
मेयरसाप डेस्क
|
२०८२ फागुन १८ गते १९:४८
झापा । पाँच वटा निर्वाचन क्षेत्र रहेको झापामा प्रतिनिधिसभा निर्वाचनका लागि तीन वटा अस्थायी मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले झापा कारागार, कर्मचारी मिलन केन्द्र चन्द्रगढीको भवन र दमक नगरपालिकाको कार्यालयमा अस्थायी मतदान केन्द्र रहेको जानकारी दिए । उनले जिल्लामा छ हजार ३८० अस्थायी मतदाता रहेको बताए । जसमध्ये कारागारमा १०७ जनाले कर्मचारी मिलन केन्द्रमा ५५६ जनाले र दमक नगरपालिकाको कार्यालयमा ३१५ जना अस्थायी मतदाताले मतदान गर्ने जनाइएको छ ।
उहाँका अनुसार कारागारका कैदीबन्दी, मतदान केन्द्रमा नखटिएका सङ्घीय, प्रदेश र स्थानीय तहका सरकारका कर्मचारी, सुरक्षाकर्मीले ती तीन वटा अस्थायी मतदान केन्द्रबाट समानुपातिकतर्फ मतदान गर्ने छन् ।
झापामा सात लाख १३ हजार ५३७ मतदाता, ८१५ मतदान केन्द्र र २८५ मतदानस्थल रहेका छन् । यहाँ ८१५ मतदान अधिकृतसहित चार हजार ९३६ जना कर्मचारी खटाइएको छ । निर्वाचनलाई निष्पक्ष, भयरहित र व्यवस्थित बनाउन जिल्लाका २८५ वटै मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको र कर्मचारीहरू धमाधम आज बिहानैदेखि कार्यक्षेत्रमा खटाउने क्रम सुरु भएको कार्यालयले जनाएको छ ।
यहाँ निर्वाचनलाई समावेशी र उत्साहजनक बनाउन यसपटक मेची रङ्गशालामा रहेका तीनवटा मतदान केन्द्रको पूर्ण नेतृत्व महिला कर्मचारीलाई प्रदान गरिएको छ ।
Facebook Comments