Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

User Image मेयरसाप डेस्क | २०८२ फागुन २० गते २०:२२
Image of https://mayorsap.com/storage/photos/shares/election-2082.jfif

काठमाडौँ । निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने आयोगले स्पष्ट पारेको छ ।

मतदाता परिचयपत्रको सक्कल प्रति नभएमा नेपाली नागरिकता, सवारी चालक अनुमतिपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र वा जग्गा धनी प्रमाण पूर्जाको सक्कल प्रतिमध्ये कुनै एकले मतदान गर्न पाइने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।

मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन अधिकृतको कार्यालयले प्रशिक्षण दिएपछि केन्द्रमा खटिने अरु कर्मचारीलाई मतदान अधिकृतले प्रशिक्षण दिएर खटाइएको आयोगले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा कूल दुई लाख २१ हजार कर्मचारी खटिएका छन् । सत्ततर जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३ हजार ११२ केन्द्र र समानुपातिकमा मात्र मत हाल्ने १४३ अस्थायी केन्द्रमा ती कर्मचारी खटाइएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले बताए । उनका अनुसार ५०० भन्दाबढी मतदाता भएका केन्द्रमा नौ जना र ५०० भन्दा कम मतदाता भएका केन्द्रमा आठ कर्मचारी खटाउने व्यवस्था मिलाइएको छ ।

जिल्ला आचारसंहिता अनुगमन समितिले आवश्यक व्यक्ति तथा संयन्त्रको परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता २०७९ को दफा १७ र १८ बमोजिम निषेध गरिएका कार्य हुन नदिने र कहीँकतै भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउन आयोगले भनेको छ ।

मतदानको मितिभन्दा सात दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाउन आयोगले निर्देशन दिएको छ । मतदानको दिनमा अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने सवारीसाधन), कूटनीतिक निकायका सवारीसाधन र निर्वाचनको दिनमा प्रयोग गर्ने गरी पास प्राप्त गरेका सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधन यही फागुन २० गते राति १२ः०० बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्मका लागि सञ्चालनमा रोक लगाइने भएको छ ।

मतदानको दिन अन्तरराष्ट्रिय तथा आन्तरिक हवाई उडान यथावत् सञ्चालनको व्यवस्था मिलाइएको छ । अन्तरराष्ट्रिय र आन्तरिकतर्फका हवाई उडानका लागि टिकट भएका यात्रुलाई विमानस्थलदेखि घर/बसोबास गर्ने होटलसम्म र घर/बसोबास गर्ने होटलदेखि विमानस्थलसम्म यात्रा गर्दा निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्न दिने व्यवस्था भएको छ ।

निर्वाचन सुरक्षा ९व्यवस्थापन० निर्देशिका, २०८२ अनुसार निर्वाचन मितिभन्दा ७२ घण्टाअघिदेखि सम्बन्धित जिल्लाका अन्तरराष्ट्रिय सीमा नाका बन्द गर्ने व्यवस्था मिलाउने सम्बन्धमा उपयुक्त व्यवस्था मिलाउन नेपाल सरकार, गृह मन्त्रालयलाई सिफारिस गरिएको सहायक प्रवक्ता न्यौपानेले बताए ।

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि आयोगले ४१ संस्थालाई पर्यवेक्षण अनुमति प्रदान गरेको जनाएको छ । आयोगले अनुमतिप्राप्त संस्थाका करिब पाँच हजार पर्यवेक्षकका लागि परिचयपत्र जारी गरिसकेको जनाएको छ ।


Facebook Comments