बाजुरामा निर्वाचन तयारी पूरा, उच्च सुरक्षा सतर्कता
चुनावी मैदानमा एक स्वतन्त्र सहित ७ दल
मेयरसाप डेस्क
|
२०८२ फागुन २० गते २०:१६
बाजुरा । बाजुरामा निर्वाचनको सम्पूर्ण तयारीमा पूरा भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँका सम्पूर्ण मतदान स्थलमा निर्वाचन तयारी पूरा भएको जनाएको छ ।
मतदान केन्द्रमा खटिएका कर्मचारीहरूले मतदान स्थलको सम्पूर्ण तयारी गरेको मुख्य निर्वाचन अधिकृत संजीव पोखरलले जानकारी दिए। यहाँका ७७ मतदान स्थलका ११८ मतदान केन्द्रमा मतदानको लागी बुथहरू तयार भएका छन्।
बाजुरामा उच्च सुरक्षा सतर्कता अपनाईएको छ । विगतका जस्ता घटना घट्न नदिन यो निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत पारिएको छ। बाजुरामा २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा दुई युवाको मृत्यु भएको थियो।
यस पटकको निर्वाचन स्वच्छ,निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न उच्च सुरक्षा सतर्कता अपनाईएको सुरक्षा निकाय प्रमुख तथा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए । उनका अनुसार यो निर्वाचन नमुना निर्वाचन समेत हुने बताएका छन्।
बाजुरामा करिब सात सय बढि कर्मचारी परिचालन गरिएका छन् । त्यस्तै ४ सयभन्दा बढी नेपाल प्रहरी, करिब २ सय सशस्त्र प्रहरी, ३ सयभन्दा बढी नेपाली सेना तथा १ हजार ६० जना निर्वाचन प्रहरी परिचालन गरिएका छन्। निर्धक्क र शान्तिपूर्ण वातावरणमा मतदान गर्न मतदाताहरुमा आग्रह समेत गरिएको छ।
बाजुरामा ६२ मतदान केन्द्र अतिसंवेदशिल,१२ वटा संवेदनशिल र ३ वटा सामान्य रहेका छन् । बाजुरामा ८७ हजार ८६१ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । जसमा ४२ हजार ४३१ महिला, ४५ हजार ४२८ पुरुष र २ जना अन्य रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले बताएको छ ।
बाजुरामा १ हजार ४ सय बढि अस्थायी मतदाता कायम छन्।अस्थायी मतदाताका लागि जिल्लामा एक मात्र मतदान केन्द्र तोकिएको छ। सदरमुकाम मार्तडी स्थित डिभिजन वन कार्यालयमा उक्त केन्द्र रहने भएको छ। बाजुरामा एक स्वतन्त्र सहित ७ दलका व्यक्ति चुनावी मैदानमा छन्।
Facebook Comments